‘बुलबुल’ ट्रेलरमा स्वस्तिमाका अनेक रुप

माघे सङक्रान्तीको अवसर पारेर फिल्म ‘बुलबुल’को ट्रेलर सार्वजनिक भएको छ ।

फिल्मले केही दिनअघि फिल्मकी मुख्य अभिनेत्री स्वस्तिमा खड्कालाई दोहोरो भूमिकामा प्रस्तुत गरेको भिडियो सार्वजनिक गर्दै माघ १ मा ट्रेलर सार्वजनिक गर्ने घोषणा गरेको थियो । सार्वजनिक ट्रेलरले स्वस्तिमा खड्काको चरित्र मार्फत फिल्मको कथा भन्ने प्रयास गरेको छ । सार्वजनिक ट्रेलरमा स्वस्तिमा खड्कासँगै नव अभिनेता मुकुन भुषाल र लक्ष्मी बर्देवाले पनि पर्याप्त स्थान पाएका छन् ।

निर्देशक विनोद पौडेलले बजार र आफ्नो रुचि दुवै कुरालाई मिलाएर ट्रेलरमा प्रस्तुत गर्ने जमर्को गरेको बताए । ट्रेलरमार्फत आफूले चलचित्रको बनौट, कलाकारको अभिनय र कलाको संयोजन प्रस्तुत गर्न खोजेको उनको दाबी छ ।
‘फिल्ममा हामीले मास र आर्ट दुवैलाई समेट्ने प्रयास गरेका छौं । ट्रेलर पनि यही बीचको बिन्दुमा बसेर आएको छ’ पौडेलले भने, ‘नेपालमा भिज्युवल ल्यांग्वेज परख गर्ने दर्शकको जमात बाक्लो छैन । तर, गर्नेलाई पनि ट्रेलरमा केही खुराक दिने प्रयास गरेका छौं । यो चलचित्र जति रमाइलो छ उत्तिकै गम्भीर पनि ।’

निर्माता अविरल थापाले अभिनेत्री स्वस्तिमा खडका अर्को चलचित्रको छायांकनका कारण नेपाल आउन नसकेपछि विना कार्यक्रम एकैचोटि युट्युवमार्फत ट्रेलर सार्वजनिक गर्नु परेको जानकारी गराए । ‘स्वस्तिमा आइसकेपछि संचारकर्मीहरुलाई डाकेर ट्रेलरको प्रतिक्रिया लिने र अन्र्तक्रिया गराउनेछौं’ उनले भने ।

यस अगावै सार्वजनिक दुई टिजर र स्वस्तिमा खडकाले आफनै पात्रसँग कुराकानी गरेको प्रचारात्मक दृश्य सामग्रीबाटै चलचित्र ‘बुलबुल’का दुई पात्र चोपेन्द्र र रनकला दर्शकमाझ परिचित भइसकेका छन् । उनीहरुको सिको गर्दै दर्शकले टिकटकमा हजारौं भिडियो बनाइसकेका छन् ।

फिल्ममा बुद्धि तामाङ, मुकुन भुसाल, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, एलिना कार्की आदि कलाकारको अभिनय रहेको छ । सुसन प्रजापतिको छायांकन रहेको फिल्मलाई विनोद पौडेलले लेखेका हुन् । फिल्मलाई पुरुषोत्तम पाण्डे, अबिरल थापा, भिम थापा र राजु पौडल मिलेर बनाएका हुन् । रामराजा दाहाल फिल्मका कार्यकारी निर्माता हुन् । फिल्म भ्यालेन्टाइनको अवसर पारेर फागुन ३ गतेबाट देशभर लाग्दैछ ।