नायिकाको चरित्रहत्या प्रयासमा चलचित्र कलाकार संघको उजुरी

केही नेपाली अभिनेत्रीहरुको चरित्र हत्या गर्ने मनशायले नक्कली पोर्न भिडियो बनाउँदै सार्वजनिक गर्ने क्रम बढेको छ । यस विषय तर्फ ध्यान केन्द्रित गर्दै नेपाल चलचित्र कलाकार संघले प्रहरीमा उजुरी दिएको छ । संघका अध्यक्ष रविन्द्र खड्कासहितको टोलीले आज जेठ १३ गते महानगरिय अपराध महाशाखा, टेकुमा पुगेर उजुरी वुझाएको हो ।

अभिनेत्रीहरुको अनुहार पोर्न भिडियोमा जोडेर सार्वजनिक गरिएकोमा अन्य अभिनेत्रीहरूको समेत त्यस्तै नक्कली भिडियो सार्वजनिक गर्ने धम्की आइरहेको छ ।

उक्त उजुरी पत्रमा भनिएको छ, ‘विगत केही दिनदेखि प्रविधिको चरम दुरुपयोग गर्दै नेपाली चलचित्रसँग सम्बन्धित कलाकारहरुको नक्कली अश्लिल भिडियो बनाएर विभिन्न माध्यमबाट सार्वजनिक गर्ने क्रम बढेको छ । कलाकारहरुको बारेमा भ्रम श्रृजना गरी चरित्र हत्या गर्ने दुस्प्रयास भएकाले यथाशिघ्र यसको छानविन गरी दोषीलाई कडा कारवाहीको माग गर्दछौ ।’