छायांकनमा रहेका फिल्म नरोक्ने


सरकारले २५जना भन्दा बढी व्यक्तिलाई एक साथ नबस्न भनेको छ । विश्वमा नै आतंक सिर्जना गरेको कोरोना संक्रमणलाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो । यस अवस्थाकै बीच केहि फिल्म भने छायांकनको क्रममा रहेका छन् । फिल्म ए मेरो हजुर ४, डेसान, परदेशी २, २नम्बरी लगायत फिल्म छयांकनको क्रममा रहेका छन्  । केही फिल्म ‘इनडुर’ छायांकनमा ब्यस्त छन्, भने कतिपय काठमाडौं भित्र र बाहिर रहेर छायांकन गर्दै छन् । यहि बीच सरकारको निर्णयलाई उल्लङ्घन नगरी फिल्म छायांकन जारी राख्ने उनीहरुले बताएका छन् ।

फिल्म ए मेरो हजुर ४ का निर्माता सुनिल कुमार थापाले फिल्मको छायांकन नरोकिने बताएका छन् । भक्तपुरमा ‘इनडुअर’ छायांकनमा भएको र  सावधानी अपनाउदै काम गरिरहेको बताउछन्, उनी । सानो टिम रहेको र २०, २२ जना भन्दा बढी व्यक्ति नभएकोले अहिले नै छायांकन रोकिदैन । साथै टिम भन्दा बाहिरको मान्छेलाई आउन नदिएको कारण खासै समस्या नआउने उनले बताए ।


फिल्म २ नम्बरी छायांकनका लागि पोखराको गाउँमा पुगेका निर्देशक दिपेन्द्र लामाले समेत फिल्म नरोकिने बताए । टिम पनि खासै ठुलो नभएको र सतर्कता अपनाएको कारण समस्या आउन नदिदै छायांकन अगाडी बढाउने टिमको योजना रहेको छ । बाहिर छायांकन भए पनि स्वास्थ्यमा ध्यान दिदै बाहिरका मान्छेलाई प्रवेश गर्न दिइएको छैन ।

करिव ७०प्रतिसत छायांकन सकिएको फिल्म परदेशी २को समेत छायांकन नरोकिने फिल्म निर्मार्ता राजेश बंशलले बताएका छन् । सरकारको निर्णय अगावै कोरोनाको प्रकोपलाई ध्यान दिदै स्वास्थ्यलाई लिएर गम्भीर रहेको टिमले सावधानी अपनाउन थालेको थियो । यो अवस्थामा छायांकन रोक्दा सम्पूर्ण काम दोहोर्याउनु पर्ने भाएको कारण छायांकन रोकिदैन । स्पोर्ट्स ब्वाई देखी लिएर कुक समको स्वास्थ्य र सावधानीलाई आत्मसाथ गर्दै छायांकन गरिएको र छिटै छायांकन सकेर फर्किने समेत उनले बताए ।

डेसान फिल्म निर्देशक कमल एक्चै मगरले छायांकन सकिन लागेकोले नरोकिने बताए । गाउँमा भएको तथा टिम सानो भएको कारण खासै समस्या नहोला, भन्दै उनी सावधानी अपनाउदै काम अगाडी बढाएको बताउछन् । फिल्मको छायांकन ४,५ दिनमा नै सकिने र चाडै नै फर्किएर सुरक्षित रहने तयारी छ ।