ऋषिराजको ‘चुरीफुरी’ अडिसन

निर्देशक ऋषिराज आचार्यको निर्माण र निर्देशनमा बन्न लागेको फिल्म ‘चुरीफुरी’ ले कलाकार छनौट कार्य सुरु गरेको छ । पहिलो चरणको अडिसन शुक्रबार आरबि मुभीजको कार्यालय, चक्रपथमा सम्पन्न भयो । स्क्रिप्टले नयाँ अनुहार माग गरेकाले अडिसन गरेर कलाकार छनौटको प्रक्रिया सुरु गरिएको जानकारी निर्देशक आचार्यले दिएका छन् ।

आचार्यकै लेखन रहेको फिल्मका लागि गरिएको अडिसनमा झण्डै दुई सय नव प्रतिभाले अडिसन दिएका थिए । पहिलो चरणको अडिसनमा केही प्रतिभाशाली प्रतिभा छनौट भएको आचार्यले जानकारी दिए । उनले ‘चुरीफुरी’ का लागि प्रमुख अभिनेता, अभिनेत्री तथा सहकलाकार समेत आबश्यक रहेकाले दोश्रो चरणको अडिसन पनि गरिने बताए । अडिसनमा सहभागी युवायुवतीले आफूमा निहित बिबिध प्रकारका अभिनय क्षमता प्रस्तुत गरेका थिए । केही दिनपछि हुने दोश्रो चरणको अडिसनपछि सम्पूर्ण कलाकार छनौट हुने बिश्वास आचार्यले लिएका छन् । बिदेशमा रहेका इच्छुक प्रतिभाले भिडियो क्लिप्सबाट अडिसन दिन सक्ने ब्यबस्था मिलाइएको छ । पहिलो चरणको अडिसनमा निर्देशक ऋषिराज स्वयम्का साथमा संचारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदी अतिथि निर्णायकका रुपमा थिए । ‘चुरीफुरी’  को छायांकन मंसिर तेश्रो साताबाट सुरु हुने बताइएको छ । कमेडी जनराको फिल्म आरबि मुभीजकै ब्यानरमा निर्माण हुदैछ ।