धेरै ठ्याक नलाग्ने ‘डन्डीबियो’ – ‘डमरुको डन्डिबियो’ समीक्षा

विषयवस्तु उठानका हिसाबले फिल्म घरेलु दर्शकका लागि नयाँ लागे पनि चलचित्रले विषयको नवीनतालाई संरचनामा ढाल्न सकेको छैन । फिल्म हेर्ने दर्शकको मनमा प्रशस्त प्रश्न उठ्छन् र यसको चित्त बुझ्दो उत्तर नदिइ फिल्म सकिन्छ । फलतः यो फिल्म पनि कमजोर फिल्मको रुपमा केही दिनपछि दर्शकको मनबाट बिस्थापित हुने निश्चित छ ।

‘पशुपतिप्रसाद’लाई कसैले पनि हिट होला भन्ने अनुमान गरेका थिएनन् । तर त्यो फिल्म हिट मात्र भएन, सम्भवतः केही वर्षपछि क्लासिक फिल्मको नाम लिनु पर्दा ‘पशुपतिप्रसाद’ उत्कृष्ट ५ भित्र अटाउँछ । फिल्मको कथा आम मान्छेको कथा बन्यो, संवाद र घटनाले दर्शकको मन छोयो । शीर्ष भूमिका निभाएका खगेन्द्र सबैका प्रिय अभिनेता बने । यो यही फिल्म थियो जहाँ सामान्य कथामा पनि बलिया चरित्र निर्माण गरेर लेखक खगेन्द्र लामिछानेले आफ्नो उचाइ ह्वात्तै बढाएका थिए । अभिनेताको रुपमा पनि खगेन्द्रको उपस्थिति यही फिल्मले उम्दा बनाएको थियो ।
त्यसपछि लगत्तै रिलिज भएको खगेन्द्रकै अर्को चलचित्र ‘धनपति’को पनि बाक्लै चर्चा चल्यो । तर यो फिल्म ‘पशुपतिप्रसाद’को कुमकुम त के घुँडासम्म पनि देखिएन ।
यतिबेला उनै ‘पशुपतिप्रसाद’का एकल नायक खगेन्द्र ‘डमरुको डन्डीबियो’ लिएर हलमा आएका छन् । तर यो फिल्म पनि ‘पशुपतिप्रसाद’को छेउछाउमा छैन जति यसको ट्रेलर हेर्दा सोचिएको थियो । विषयवस्तु उठानका हिसाबले फिल्म घरेलु दर्शकका लागि नयाँ लागे पनि चलचित्रले विषयको नवीनतालाई संरचनामा ढाल्न सकेको छैन । फिल्म हेर्ने दर्शकको मनमा प्रशस्त प्रश्न उठ्छन् र यसको चित्त बुझ्दो उत्तर नदिइ फिल्म सकिन्छ । फलतः यो फिल्म पनि कमजोर फिल्मको रुपमा रुपमा केही दिनपछि हलबाट र दर्शकको मनबाट बिस्थापित हुने निश्चित छ ।

फिल्मको कथा सरल छ । मास्टर पढ्न काठमाडौं बसेको डमरु (खगेन्द्र लामिछाने) सरकारले डन्डीबियोलाई राष्ट्रिय खेलबाट हटाएपछि यही खेललाई पुनर्स्थापित गर्न भन्दै गाउँ छिर्छ । तर, गाउँमा यो खेल खेल्न कोहि तयार छैनन् । अरु त अरु आधा उमेर डन्डीबियो खेलेर कटाएको योगेन्द्र (अनुप बराल) नै डमरुको डन्डिबियोमा सबैभन्दा ठूलो बाधा बनेर खडा हुन्छन् । योगेन्द्र छोरालाई डन्डिबियोका पछि लाग्न छाडेर सचिव बन्न किचकिच गर्छन् । यता डमरुलाई भने डन्डीबियो खेल्ने भन्दै ढिपी कस्छ । योसँगै सुरु हुने बाउ छोरको द्धन्द्ध र डमरुको डन्डिबियोलाई देशमा लोकप्रिय बनाउने डमरुको सपनासँग फिल्मको कथा अगाडि बढ्छ । डमरुको सपना पूरा हुन्छ कि हुन्न ? योगेन्द्रले छोराको सपनालाई कसरी साथ दिन्छ, ‘डमरुको डन्डिबियो’ यस्ता प्रश्नको उत्तरसँगै सकिन्छ ।
लेखक खगेन्द्र लामिछानेले जुन विषयलाई फिल्मको कथाका लागि चयन गरेका छन्, त्यो सह्रानीय छ । तर, खेलको विषयमा बनेको फिल्म जति रोचक हुनुपथ्र्यो त्यो बनाउन भने लेखक निर्देशक मज्जाले चुकेका छन् । फिल्ममा घटना यसरी घट्दै जान्छन् मानौं, यो फिल्म हैन, कलाकारहरु म्यारिजका लागि तास फिटिरहेका छन् । घटनालाई विश्वसनीय बनाउने मामलामा खगेन्द्रले बिल्कुलै प्रयत्न गरेका छैनन् । तर लेखनको असफलतालाई कलाकारको अभिनयले धेरेथोर ढाक्न मद्दत गरेको छ । डमरुको रुपमा खगेन्द्रको अभिनयको विश्वसनीय छ भने अनुप बराल, मेनुका प्रधान, बुद्धि तामाङले पनि राम्रो काम गरेका छन् । जहाँसम्म खगेन्द्रको कुरा छ, उनले आफूलाई अभिनयमा पनि एक्स्प्लोर गर्नु पर्ने बेला आएको छ । नत्र बिस्तारै उनी पनि मोनोटोनस हुनेछन् । फिल्मको सबैभन्दा ठूलो समस्या डमरुको डन्डिबियो प्रतिको लगाव स्थापित गर्न नसक्नु हो । मास्टर सकेको डमरु किन र के कारणले डन्डिबियोको पछि लाग्छ, लेखक तथा निर्देशकले स्थापित गर्न सकेका छैनन् । यही कुरा स्थापित नहुँदा फिल्म कमजोर बनेको छ । त्यसैगरी लेखकले योगेन्द्र किन डन्डिबियोको दुश्मन बनेको छ भन्ने कुरा पनि बताउन जरुरी ठानेका छैनन् जुन दर्शकलाई बिझाउँछ । फिल्ममा डमरु र योगेन्द्रले खेलेको खेल भाइरल हुने दृश्छ छ जुन दृश्य पनि विश्वसनीय लाग्दैन ।
आम नेपाली फिल्ममा झैं फिल्मको छायांकन राम्रो छ । छायांकर हरि हुमागाँईले केही दृश्य अर्थपूर्ण बनाएका छन् । तर खेलका दृश्यमा भने उनको कुशलता देखिएको छैन । खेललाई रोचक बनाउने प्रशस्त ठाउँ हुँदाहुँदै पनि तिनमा उनको प्रयत्न देखिएको छैन । फिल्मको पाश्र्व संगीत यो फिल्मको बलियो पक्ष हो । एलिश कार्कीले ट्रयाकभन्दा बाहिर रहेर विषय सुहाउँदो संगीत तयार गरेका छन् ।

फिल्मले डमरुको डन्डीबियोकाबारेमा ज्ञान दिन त खोजेको छ, तर फिल्मलाई ‘पाठशाला’ जस्तो बनाइएको छ । प्रयोगात्मक रुपमा सिकाउनुपर्ने खेललाई ह्वाइट बोर्ड लिएर धेरै बेरसम्म सिकाउन खोज्दा फिल्म लामो भएको छ ।
नेपाल आज पनि सहर उन्मुख गाउँले भरिएको देश हो । डाँडापाखाले भरिएको गाउँमा खेल्नलाई ठूलो मैदान नचाहिने भएकाले पनि डन्डिबियो खेलेर हुर्किको ठूलो पुस्ता आज पनि यसको स्मृतिबाट टाढिएको छैन । त्यही खेलमा पर्दा ल्याउने खगेन्द्र र निर्देशक छेतनको प्रयास सह्रानीय छ । चलचित्र हेरिसक्दा फिल्मले दर्शकको यो खेलसँग जोडिएको संवेदनालाई त झकझक्याउन सक्दैन तर कहिँ न कहिँ डन्डीबियो प्रतिको प्रेमलाई भने जिवित राख्छ । एकैछिनलाई भएपनि फिल्मले डन्डीबियोप्रतिको सम्मान बढाइदिन्छ ।
हल्काफुल्का फिल्मले दर्शक झुक्याइरहेको समयमा फरक विषयमा फिल्म बन्नु निश्चय नै राम्रो कुरा हो । डमरुले यही प्रयासका लागि पनि धाप पाउनु पर्छ । त्योबाहेक पनि केही कमजोरीका बावजुद फिल्म हेरुन्जेल बिझाउँदैन । तपाईंलाई नेपाली फिल्मको मौलिकताको यात्रामा साथ दिन मन छ भने पनि हलमा डन्डिबियोको ठ्याक लगाउन जाँदा फरक पर्दैन ।