बुहारीले सासुको खुट्टा ढोग्नै पर्ने, अनि ज्वाईले ???

विवाह गर्दा कहिले पनि केटाले वा केटाको परिवारले मात्र गर्दैन । विवाहमा दुवै केटा र केटी दुवै जनाको हुन्छ त दुवै पक्षको परिवारबाट नयाँ परिवार बन्छ । विवाह भनेको छोरीसँग छोरा साट्ने जस्तै नै हो । बुहारीको रुपमा घरमा नयाँ सदस्य भित्रिन्छ, नयाँ सम्बन्ध जोडिन्छ । त्यस्तै ज्वाइँको रुपमा पनि केटीको परिवारमा नयाँ साइनो निर्माण हुन्छ । यता बुहारीले घरको सम्पूर्ण जिम्मेवारी लिनुपर्ने, घरका हर एक सदस्यलाई खुशी बनाउँनु पर्ने, रिजाउँनु पर्ने ठेक्का लिईराख्दा यता ज्वाइँको आफ्नो श्रीमतीको घर प्रति केही जिम्मेवारी रहेको देखिदैन । उल्टो ज्वाइँले छोरीलाई दुःख देलान् कि भनेर हरेक तरहमा उसलाई नै रिजाउँनुपर्ने चलन सदियौँ देखि अभ्यासरत छ ।

म हिन्दू संस्कारमै जन्मिएकी, हुर्किएकी मलाई हिन्दू संस्कार धेरै नै मन पर्छ । तर संस्कार र संस्कृतिको नाममा सदियौ देखि महिलामाथि भएको अत्याचार र असमानताको अलिकति पनि बिरोध गर्दा तिमी क्रिस्चियन बन’ भन्ने सुझाव पटक पटक आउने गर्छ । म कुनै धर्म वा संस्कृतिको राम्रोको लागि, केही नकारात्मक तत्वलाई सुधार गर्दै लानुपर्छ भनी बिचार ब्यक्त गर्दै गर्दा यदि मैले मेरो धर्म नै छोड्नुपर्ने हो र ? यो कहाँसम्म उचित कुरा भयो त्यसोत हामीले सुन्दै आएको आएको सती प्रथाकै कुरा गर्ने हो भने कुनै दिन यो प्रथाले पनि हिन्दूसंस्कारमा जरा नै गाडेको थियो । यदि त्यो बेला पनि यसरी नकारात्मक कुरा, अन्याय र अत्याचारको विरोध नगरेर धर्म त्यागेर क्रिस्चियन भएको भए के यो प्रथा यसरी उन्मूलन भएर जान्थ्यो होला र ?

विवाह पश्चात पुरुष र महिला दुवैको जिम्मेवारी बराबर हुनुपर्छ । दुवै जना एक अर्का प्रति वफादार हुनुपर्छ । एक अर्कालाई सम्मान गर्नुपर्छ र एक अर्काको अभिभावकप्रति पनि दुवै जनाको बराबर जिम्मेवारी, दायित्व र सम्मान हुनुपर्छ । मलाई विवाह पश्चात गरिने व्यवहारहरू मध्ये सधैँ खड्किरहने एउटा विषय हो, खुट्टा ढोग्ने । हो समाजले बुहारीलाई छुट्याइदिएको एउटा महान जिम्मेवारी, बुहारीले सासुको खुट्टा ढोग्नुपर्ने । कुनै पनि सन्तानले आफ्नो बुबा आमाको खुट्टा ढोग्नु पर्छ किनकी जन्मदिन माता पिता भन्दा ठूलो कोही हुँदैनन । छोरीलाई जन्म दिए पनि छोरालाई जन्म दिएपनि संसार चिनाउने, दुःख कष्ट भोगेर पनि सुख दिने, आफ्नो सन्तानको लागि हरेक कुराको त्याग दिएर बलिदान दिने जन्मदाता एवं कर्मदाता निश्चय ईश्वरसमान हुन् । उनको चरणमा उनकै उपज आफ्नो शिर राख्नु निश्चय नै अहोभाग्य हो । तर के श्रीमानको आमाबुबा जसले श्रीमानलाई जन्मदियो उहाँलाई मात्र बुहारीले सम्मान दिन पर्ने ? खुट्टा ढोग्न पर्ने ? अनि ज्वाईँले चै श्रीमतीको जन्मदाताको, आफ्नो सासुको खुट्टा ढोग्दा चै किन पाप हुने ? छोरा जन्माउने आमा चाहिँ आमा अनि छोरी जन्माउने आमा चाहिँ आमा होइनन् ? मैले मेरो विवाह हुन लागेको पुरुषलाई ‘म हजुरको आमाको खुट्टा ढोग्छु तर के हजुर मेरो आमाको खुट्टा ढोग्नुहुनेछ?’ भनी प्रश्न गर्दा उहाँ खोक्रो महिलावादीको कुरा नगर भनेर रिसाउनु भयो । अनि तिम्रो आमाको खुट्टा म कथापी ढोग्दिन बरु मेरो आमालाई म सम्झाउँला तिमी पनि नढोग भन्नुभयो । अझ, यसबाट तिमीलाई बेफाइदा हुन्छ तिमीलाई नै मानिसहरुले बेसंस्कारी भन्नेछन् भन्नु भयो ।

किनकी यो चलिआएको चलन, हाम्रो संस्कृति हो । फेरी मनमा अर्को प्रश्न आयो संस्कार, चलन र संस्कृतिले महिलालाई मात्र किन गाँज्छ ? बुहारीले सासुको खुट्टा नढोग्दा ऊ बेसंस्कारी हुन्छ भने ज्वाइँले आफनो सासुको खुट्टा नढोग्दा उ बेसंस्कार किन हुँदैन ? यदि हिन्दू संस्कार अनुसार त छोरीमान्छेले आमा–बाबुको खुट्टा ढोग्दैनन् नि होइन ? अनि विवाह गर्ने बित्तिकै छोरी मान्छेको लिङ्ग परिवर्तन भएर छोरा हुने त अवश्य होइन होला ? श्रीमतिले श्रीमान्को दिदी बहिनी अर्थात् नन्द आमाज्यूको खुट्टा ढोग्नुपर्ने, सानै भएपनि मध्यम आदर तिमीले सम्बोधन गर्न नहुने हो भने त्यही श्रीमतीको दिदी बहिनी, अर्थात् सालीको खुट्टा भिनाजुले किन ढोग्दैनन् ?किन सालीलाई तिमी नै भनिन्छ तपाई सम्बोधन गरिँदैन ?

घरमा बुहारीले पनि दिनभर अफिसको काम गरेर आएपश्चात पनि घरको काम गर्दछ । घरको सदस्यलाई चिया–खाना बनाउने, लुगा धोइदिने कार्य गर्दछ । तर ज्वाइँले उसको सासु बिरामी भएर हेर्न ससुराली जाँदा पनि उल्टै मेजमानी दिनुपर्ने । अहिले सम्म कुनै ज्वाइँले सासुको लुगा धोइदिएको, सासुको स्याहार गरेको, बिहान सबेरै उठेर चियाँ बनाइदिएको, खाना पस्किदिएको देखेको छ ? सामान्य कार्य गरिहाले पनि लुगा धोइदिएको मात्र देखियो भने हामी, हो हामी तपाई, हामी नै कस्तो बुहारी जस्तो भनी खिल्ली उडाउन अघि सर्छौँ । के पुरुष भएकै आधारमा उनलाई यो सब छुट दिएको हो ? कतिपयले श्रीमतीलाई श्रीमानले पाल्ने भएकोले उसले घरको हरेक सदस्यलाई बढी मान गर्नुपर्ने भन्ने कुरा राखे । तर श्रीमतीले श्रीमानले बाहिरी कार्य गरिराख्दा घरको सम्पूर्ण कार्य गरेको हुन्छ र त श्रीमान बाहिर कार्यमा सफल भईरहेको हुन्छ । भने अहिले त महिला आफै सक्षम हुन्छिन कसैले कसलाई पाल्न पर्दैन आत्मनिर्भर रहन्छिन् । विवाह पश्चात एक अर्काको परिपूरक भएरै कार्य गरिन्छ ।

अझ बुहारीले सासु–ससुराको मृत्यु हुँदा चोला फुकालेर १३ दिन नै नुन छोडेर श्रीमानसँग जुठो बार्नु पर्ने अनि ज्वाइँलाई ३ दिन मात्र ? महिला र पुरुषको असली विभेद त विवाह पश्चात हुने बुहारीको भूमिकामा धेरै भोग्नु पर्ने । श्रीमान्को मृत्यु पश्चात पनि बुहारीले आफ्नो सासु–ससुरा प्रति आफ्नो जिम्मेवारी निभाउछन्, बिरामी भए रेख देख गर्छन के ज्वाइँले आफ्नो श्रीमतीको अवशेष पश्चात आफ्ना श्रीमतीको जन्मदाताको स्याहार गर्दछ ? के महिला भएकैले गर्दा मात्र उनले मात्र संस्कार र संस्कृति मान्नपर्ने हो त ? के बुहारीको मात्र उसको सासु ससुरा प्रति कर्तव्य हुने ? उसले मात्र आफ्ना संस्कारको परिक्षा दिइरहनु पर्ने ?
चलीआएको प्रथाको नाममा कुसंस्कारलाई प्रश्रय नदिने पो हो कि ???