आफ्नैको तारिफले धोका पाउँदै फिल्मीकर्मी

लभ स्टेशन फिल्मको प्रेस शोमा निर्देशक दीपाश्री निरौला पुगेकी थिइन् । दीपाश्रीको टिमले बनाएको वडा नम्बर ६ का निर्देशक उज्ज्वल घिमिरे थिए । उज्ज्वल घिमिरेले निर्देशन गरेको लभ स्टेशन भएकाले दीपाश्री पुगेकी होलिन् ।

लभ स्टेशन हेरेपछि दीपाले सोझौ भन्न नै सकिनन् । उनले, उज्ज्वल घिमिरेबाट यो भन्दा माथीको फिल्म आशा गरेको थिएँ भनेर प्रतिक्रिया दिएकी थिइन् ।

दीपाश्रीले सोझै भन्न नसकेकी हुन् । उनले, मिलाएर फिल्म मन नपरेको बताएकी हुन् । युटुबमा दिपाश्रीको भनाई आएपछि अभिनेता प्रदिप खड्काका फ्यानहरु उनलाई गाली बसाउन लागे । दिपाश्रीले गाली खाइन् । छक्का पन्जा २ युटुबमा नराख्दा पनि दिपाश्रीले यस्तो गाली नखाएको हुनपर्छ ।

दिपाश्रीको भनाई युटुबमा आएको घन्टा वित्न नपाउँदा लभ स्टेशनले चोरीको मार खेप्यो । चोरेर फिल्म बनाएको पुष्टी पनि भयो । दिपाश्रीले उज्ज्वल घिमिरेबाट यो भन्दा अझै स्तरिय फिल्मको अपेक्षा गरेको बताउँदा गाली खाइन् ।

नेपालमा फिल्म बनेपछि त्यसलाई देखाउन उकुसमुकुस फिल्म बनाउनेलाई हुन्छ । फिल्म बनाउनेहरुले पनि प्रिमियर, विशेष शो, प्रेश भन्दै फिल्मकर्मी, संचारकर्मीलाई फिल्म देखाउँछन् ।

फिल्मको शो किन राखिएको हो ? शो राख्नुको अर्थ हो, जस्तो लाग्छ त्यस्तै भन । यसरी शो राख्नेहरु आफूसँग पनि पूर्ण आत्मविश्वास राख्छन् ।

सिनेमाको शो राख्दा मन परेपनि मन नपरेपनि राम्रो भनिदिनुपर्ने वाध्यता छ । दिपाश्रीले त्यो नगर्दा गाली खाएकी हुन् । कुनै कुनै समय यसरी बोल्ने हिम्मत कसैले गरे होलान् । तर, फिल्म हेर्न जाने फिल्मकर्मी सबै फिल्म जस्तो लागेपनि राम्रो भन्छन् ।

फिल्म बनाउनेलाई पनि पाएको प्रतिक्रियाले फिल्म राम्रो बनेको रहेछ भन्ने आत्मविश्वास बढेर जान्छ । हलमा फिल्म आएपछि दर्शकले दिने प्रतिक्रियाले उनीहरु ब्यूझछन् ।

नेपाली फिल्मकर्मीको बानी यो बिषयमा खराब छ । फिल्म हेर्न गएपछि बनाउनेको अघि फूलबट्टा दिएर राम्रो भन्छन् । कसैले त यस्तो फिल्म बनेको थिएन भनेर पनि भन्छन् ।

फिल्मको बारेमा उनीहरुको सामुन्ने ठिक्क पारिदिनेहरु एकैछिनमा कुनै क्याफेमा बसेर यति धेरै गाली गर्छन् कि, उस्तै परेमा साथी सर्कललाई फिल्म नराम्रो छ, नहेर भनेर समेत म्यासेज गरिसक्छन् ।

फेरि, तीनै फिल्मकर्मीको फेसबुकमा फिल्म राम्रो लागेको भनेर स्टाटस एकैछिनमा आउँछ । नेपाली फिल्मको प्रिमियर, विशेष शोमा देखिएको रोग यसलाई भन्नु पर्छ ।

यो आफ्नैबाट फिल्म बनाउनेले पाएको घात हो । कुनै कलाकारले फिल्म राम्रो छ भनेर भन्दैमा दर्शक बढ्दैनन् । दर्शक आफैले नहेरेसम्म फिल्मको मुल्यांकन गर्न सक्दैनन् । कलाकारले झुट बोल्छन् भन्ने त दर्शकले थाहा पाइसके ।

कलाकारले राम्रो भनेको फिल्ममा उनीहरुको विश्वास छैन । तर, फिल्म बनाउने, खेल्ने मान्छेमा भने बढ्ने आत्मविश्वास घातक हुनपुग्छ । फिल्म हेरेपछि जे हो त्यही सल्लाहा दिन पर्छ । राम्रोलाई राम्रो, नराम्रोलाई नराम्रो ।

तर, यहाँ अघि ठिक्क पारेर राम्रो भन्ने र कुना परेर नराम्रो भन्नेको भीड छ । यो भीडले फिल्म बनाउने मान्छेलाई सुधार गर्न दिदैन । फिल्मको शो राखेर प्रतिक्रियाको अपेक्षा गर्नेले पनि आउने प्रतिक्रिया स्विकार गर्न सक्नुपर्छ ।