ओमनमा ‘ए मेरो हजुर ३

फिल्म ‘ए मेरो हजुर ३’ ओमानमा भव्य प्रदर्शन भएको छ । राजधानी मस्कट कुरूमस्थित लुनार फिल्म हलमा शुक्रबार (१८ अक्टोबर २०१९) दिउँसो ३ बजे एक विशेष कार्यक्रम आयोजन गरी फिल्म स्क्रिनिङ गरिएको थियो । ओमान सरकारबाट स्वीकृति लिएर पहिलोपटक ओमानमा नेपाली चलचित्र प्रदर्शन गरिएको हो ।

उक्त अवसरमा नेपालबाट आएका उक्त फिल्मका निर्देशक झरना थापा, निर्माता सुनिलकुमार थापा, नायिका सुहाना थापासहित ओमानका लागि यूएईका लागि राजदूत, भारतका कार्यवाहक राजदूत, कोरियाका राजदूत, श्रीलंकाका राजदूतहरू अतिथिको रूपमा उपस्थित भएका थिए । कार्यक्रममा फिल्मका निर्माता, निर्देशक र नायिकालाई खादा ओढाएर मायाको चिनो प्रदान गरि सम्मान गरिएको थियो भने कार्यक्रम संचालन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ओमान च्यापटरका अध्यक्ष सुशील पुन बिरहीले गरेका थिए ।

झरना थापाको निर्देशन, सुनिल कुमार थापाद्वारा निर्मित र सुहाना इन्टरटेनमेन्टको प्रस्तुति ‘ए मेरो हजुर ३’ हेरेर दर्शकहरूले भरपूर मनोरञ्जन लिएका थिए । प्रदर्शन हाउसफुल रहेको फिल्म प्रदर्शनका को–अर्डिनेटर राजकुमार न्यौपानेले बताए । फिल्ममा अनमोल केसी, सुहाना थापा, अर्पण थापा, सालोन बस्नेत, रवीन्द्र झा, रूपा घिसिङ, रक्षा गौतमसहितका कलाकारहरूले अभिनय गरेका छन् । कार्यक्रमको प्रायोजन क्लाउड क्रस ट्राभल्स एण्ड टुरिजम एल एलसी र प्रान कम्पनीले गरेको थियो ।