फेक बक्स अफिसले निर्माताको मन पोल्छ कि राहत दिन्छ ?

फिल्म सुनकेशरी चल्दा २ दिनमै करोड कमाएको भनेर निर्मात्री ऋचा शर्माले रिपोर्ट सार्वजनिक गरिन् । केक काट्ने प्रथा त चल्ने भैहाल्यो । ऋचाको फिल्म बक्स अफिसमा असफल भयो । तर, उनले एक करोडको केक काटेर मन वुझाइन् ।

फिल्मको बक्स अफिस रिपोर्ट झुटो सार्वजनिक गर्दा निर्माताको मन पोल्छ कि राहत मिल्छ होला ? बाहिर जती हल्ला गरिदिए पनि हातमा हल्ला गरे जती रकम त आउँदैन होला ?

फिल्म भैरे हिट भएको भनेर पार्टी दिइयो । फिल्मको पार्टी खान जानेलाई पनि लाज भयो । किनकी, हलमा मान्छे नआएको फिल्म हिट भयो भनेर पार्टी दिन कसरी सक्छन्, निर्माता ? तर, नेपाली फिल्ममा यस्ता लाज पचेकाहरु छन् ।

फिल्म क्याप्टेनको ग्रस कलेक्शन एक सातामै ६ करोड कटेको भनेर निर्माता भूवन केसीले बोलेको पनि सुनिएको थियो । फिल्मले यती व्यापार गरेको थिएन । तर, फिल्मको हिसाब बढाउन सिपालु भूवन केसीले यसपटक पनि यस्तै गरे ।

फिल्म नचलेपछि निर्माताहरु मौन बस्न सक्दैनन् । अर्कोकुरा, फेक हिसाबले फिल्मको व्यापार बढ्ने पनि होइन । दर्शकले फिल्म नरुचाएपछि वा हलमा दर्शक नआएपछि आँकडा मात्र बढाएर के काम ?

अहिले लभ स्टेशनका निर्माताले पनि यस्तै गरे । ३ दिनमा फिल्मले २ करोड ग्रस कलेक्शन गरेको रिपोर्ट संचारमाध्यममा पठाइएको छ । सायद, यो रिपोर्टले अभिनेता प्रदिप खड्का र अभिनेत्री जसिता गुरुङको क्रेज उस्तै रहन्छ भन्ने होला । तर, फिल्मको व्यापार कती छ भन्ने फिल्मीकर्मीलाई पनि थाहा छ । फेरि, अहिलेको डिजिटल जमानामा दर्शकले नै हलमा कती दर्शक थिए भनेर अनलाइन हेरेर नै थाहा पाउन सक्छन् ।

नेपाली फिल्ममा फेक हिसाब सार्वजनिक गर्ने र मनको शान्ती लिने निर्माताहरुको कमी नै छैन । हरेक हप्ता रिलिज हुने फिल्म संचारमाध्यममा त हिट नै हुन्छन् । तर, निर्माताले गोजीमा शेयर पर्दा जसरी रुनुपर्छ र पलायनकै बाटो रोज्नुपर्छ त्यो बयान गरेर सकिने कुरा नै होइन ।

बक्स अफिस लगाउनुपर्छ भनेर कुर्लिने नै निर्माताहरु हुन् । तर, बक्स अफिस लागेपछि यसको दुरुपयोग गर्ने पनि निर्माता नै हुन् । बक्स अफिसको दुरुपयोग गरेर मनलाग्दी फेक हिसाब सार्वजनिक गरेर मनको सन्तोष मात्र लिएर के गर्ने हो र ?

हिटलाई हिट र असफललाई असफल भन्ने हिम्मत राख्न सक्नुपर्छ । तर, नेपालका निर्माता र केही कलाकार आफूलाई असफल नदेखाउन झुटो रिपोर्टको साहारामा मनको लड्डु खाइरहेका छन् । कठै यो दयनिय सोचबाट कहिले माथि उठ्ने ?