स्टारडम, दुई दिनको घामछाया

अभिनेता प्रदिप खड्कालाई कबड्डी ३ फिल्मबाट निकालेको, छाडेको, लभ स्टेशन असफल भएपछि निर्देशक रामबाबु गुरुङले काम नगर्ने मनस्थिती बनाएको लगायतका खबरको युटुब र अनलाइनमा बिगबिगी छ । अभिनेता प्रदिप खड्काका लागि जुनसुकै अवस्थामा पनि क्यामेरा लिएर दौडने युटुबरहरु पनि अहिले उनको खेदो खनिरहेका छन् । फिल्म लभ स्टेशन रिलिज अघि त प्रदिपले सय भन्दा धेरै युटुबमा अन्र्तवार्ता  दिएका पनि थिए । फिल्म रिलिज अघि प्रदिपको अन्र्तवार्ता लिन तछाडमछाड गरेका युटुबर र संचारमाध्यम अहिले उनी असफल भएपछि खेदो खनेर पछार्न तल्लिन छन् । प्रदिपले लभ स्टेशन फिल्म चल्नु अघि यो पनि मेरो त्यो पनि मेरो संचारमाध्यम भनेर अन्र्तवार्ता दिएका थिए । तर, स्टारडम दुइदिनको घामछाया हो र फिल्म चलेन पनि फिल्मकर्मी र संचारमाध्यम कसरी तर्कन्छन् र खेदो खन्छन् भन्ने प्रदिपले बल्ल वुझेको हुनुपर्छ ।

नेपाली फिल्ममा राजेश हमाल, निखिल उप्रेती, आर्यन सिग्देल, जीवन लुइटेल, रेखा थापा हुँदै अहिले प्रियंका कार्कीको उकाली ओराली सबैले देखेका छन् । राजेश हमालका लागि कैयौ दिन कुर्ने फिल्मीकर्मी अहिले उनका लागि जोखिम मोल्न तयार छैनन् । राजेश हमालले अनुहार देखाएमा दर्शक हलसम्म आउँछन् भनेर उनलाई थोरै दृश्यका लागि पनि ३ लाख सम्म रकम दिन निर्माणकर्ताहरु तयार भएका थिए । अहिले अभिनेतालाई फिल्ममा खेलाउने रुची कसैले राखेको छैन । अहिले उनी म्युजिक भिडियो तर्फ आकर्षित भएका छन् ।

जीवन लुइटेल र आर्यन सिग्देलको डेट कुरेर बस्ने निर्माता पनि उस्तै थिए । अभिनेता दिलिप रायमाझीले एकै दिनमा ३ फिल्म खेलेका, निर्माताले उनलाई अपहरण नै गरेका कुरा सुन्न पनि पाइएको छ । तर, अहिले दिलिप रायमाझी लोकगीतमा नाचेर बसिरहेका छन् । उनलाई फिल्ममा खेलाउने कसले ?

स्टारडम दुई दिनको घामछाया हो ?  बलुन्जेल सबैको हाईहाई,  बल्न छाडेपछि फेरि घ्यू हालेर कसैले बाल्ने प्रयास गर्दैन । बरु, अर्को बलिरहेकोलाई समात्न पुग्छ ।

२ बर्ष अघिसम्म पनि अभिनेत्री प्रियंका कार्कीलाई फिल्ममा तछाडमछाड गर्ने निर्माणकर्ता भए पनि अहिले उनको हातमा खासै फिल्म छैनन् ।

नेपाली फिल्मका कलाकार २ वटा फिल्म चल्ने वित्तिकै आफू स्टार भएको रवाफ देखाइदिन्छन् । यसपछि टेर्नै छाड्ने, संचारमाध्यमको आफै बर्गिकरण गरिदिने काम उनीहरुका लागि नौलो भएन ।

तर, चल्न छाडेपछि कुनै समय पछि पछि कुदेका ब्यानर, संचारमाध्यमले मतत्तब नगर्दा निराश भएर अरु कुनै पेशा रोज्नु वा विदेशतिर हानिनु नौलो कुरा भएन ।

लामो समयसम्म चल्न सम्बन्ध विकास मात्र होइन जोगाउन पनि जान्नुपर्छ । तर, चल्दा मलाई कसले सक्छ भन्नेहरु चल्न छाडेपछि काम देउ भन्दा पनि पाउँदैनन् ।

कलाकारको स्टारडम २ दिनको घामछाया हो । जुन फिल्म रिलिज भएपछि बदलिन्छ । यसैले स्टारडमको घमण्डले चर्किनुको अर्थ नरहला । आज पहिलो पोजिसन ओगटेका कलाकार थोरै समयमा नै हराउँछन् र पलायन हुन्छन् ।