नाट्यकर्मी महासंघद्वारा अप्ठ्यारोमा परेका नाट्यकर्मीहरुलाई राहत

कोरोना भाइरसका कारण गरिएको लकडाउनले जनजीवन प्रभावित छ । यसले नाट्यकर्ममा लागेकाहरुको जीवनयापनमा पनि कठिनाइहरु ल्याएको छ । त्यस्तै अप्ठ्यारोमा परेका नाट्यकर्मीहरुलाई नाट्यकर्मी महासंघले राहत उपलब्ध गराएको छ । अहिलेसम्म सम्पर्कमा आएका विभिन्न समुह एवम् थिएटरमा आवद्ध तथा स्वतन्त्र नाट्यकर्मीहरुलाई राहत उपलब्ध गराइएको हो ।

महासंघले कतिपय नाट्यकर्मीहरुलाई आफैंले र कतिपयलाई अन्य संघसंस्था तथा वडा कार्यालय मार्फत राहत उपलब्ध गराइएको हो । त्यसैगरि उपत्यका बाहिरका नाट्यकर्मीहरुलाई पनि राहत आवश्यक भएको खबरहरु प्राप्त भएकोले स्थानीय तहसँग समन्वय गरी राहतका लागि पहल गरिएको छ ।

केहि दिन अघि महासंघले मर्कामा परेका नाट्यकर्मीहरुलाई आफ्नो सम्पर्कमा आउन आव्हान गरेको थियो । लकडाउनको अवधि बढ्दै गएपछि नाट्यकर्मीहरु पनि मर्कामा परेको सूचना प्राप्त भएकोले महासंघले राहतको लागि पहल गरेको महासंघका कार्यवाहक अध्यक्ष राजेन्द्र रिमालले बताएका छन् । साथै उनले राहतलाई निरन्तरता दिने पनि बताए ।