एउटा फिल्म चल्दैमा खुशी नहुने कि ?

शुक्रबारदेखि हलमा लागेको फिल्म ए मेरो हजुर ३ नेपालमा हिट हुने कुरामा दुइमत रहेन । फिल्मले सोमबार र मंगलबार पनि गरेको व्यापार हेर्दा निर्माताले खुशीको अनुहार देखाउन पाउनेछन् ।

बिदेशबाट आउने मुनाफा निर्माताका लागि पूर्ण गोजीमा हुनेछ । नेपालबाटै निर्माताले खास रकम गोजीमा हाल्नेछन् ।

यो फिल्मले ४ दिनमा ४ करोड १ लाख ग्रस कलेक्शन गरेको निर्माता सुनिल कुमार थापाले उपलब्ध गराएको रिपोर्टमा उल्लेख छ । यसैले पनि निर्माता थापाले यो फिल्मबाट राम्रो रकम कमाउने विश्लेषण गर्न सकिन्छ ।

तर, यो आलेखमा ए मेरो हजुर ३ चलेको कुरा गर्न लागिएको होइन । अब, नेपाली फिल्मीकर्मीमा देखिएको खुशीको कुरा गर्न लागिएको हो ।

अब, फिल्म बनाउनुपर्छ, फिल्म चल्दा रहेछन् भन्ने खुशी तरंगित हुन थालेको छ । यो खुशी ल्याइदिएकोमा निर्देशक झरना थापालाई बधाई भनौ पहिले ।

तर, फिल्म चलेको खुशीमा फेरि निर्माताले अन्धाधुन्ध फिल्ममा लगानी गर्नेछन् । चैत्रको अन्तिम सातासम्म आइपुग्दा पनि फिल्म चलेनन् भन्दै फिल्म निर्माण नै कम भएको थियो ।

वैशाखको सुरुवातमै फिल्म चलेपछि अब सुरु हुनेछ त्यही कथा जुन पहिले पनि देखिएको हो ।

अब, सबैले ए मेरो हजुर ३ को व्यापार देखाउनेछन् । नयाँ निर्माता खोज्नका लागि निर्देशकलाई फेरि सजिलो हुने भएको छ । ए मेरो हजुर ३ ले कमाएको सबै रकम निर्माताको होइन । २ करोड ५० लाख जतिको लगानी गरेका सुनिलकुमार थापाले यो फिल्मको लगानी उठाएर नेपालबाट राम्रो रकम त गोजीमा हाल्छन् नै ।

अब, फिल्म कस्तो बनाउने र कस्तो बनाउँदा चल्छ भन्ने बहस हुँदैन । अब, ए मेरो हजुर ३ जस्तै लभस्टोरी फिल्म बनाउने कुरामा कुदाकुद हुन्छ । लुट चल्दा सुरु भएको यो ट्रेन छक्का पन्जा चलेपछि त बाढी जसरी नै बढेको थियो । अहिले फिल्ममा हाँस्यरस नहाल्यो भने  फिल्म नै चल्दैन भन्ने सुनिन्छ । तर, छक्का पन्जाको नक्कल गरेर निर्माता चुर्लुम्बै डुबेका छन् ।

फिल्म चल्यो, अब हाम्रो पनि चल्यो भनेर निर्माता खुशी हुनु भनेको मनको लड्डु खानु हो । यस्तो गल्ती गर्दा घाटा निर्मातालाई नै लाग्छ । ए मेरो हजुर ३ चल्यो भनेर यस्तै फिल्म बनाउने कोशिश गर्दा पनि फेरि डुबिन्छ ।

फिल्म ए मेरो हजुर ३ चलेको हो, सबै लभ स्टोरी फिल्म चल्छन् भन्ने छैन । अब, सुहाना थापालाई हिरोइन बनाउन, अनमोल केसीलाई चर्को दाम दिने लहड सुरु हुन्छ ।

लुट चल्दा त्यसपछि बनेका करोडौ लगानी खरानी भए । छक्का पन्जा चलेपछि यस्तै फिल्म बनाउने भनेर भएका लगानी स्वाहा भए । अब, फेरि ए मेरो हजुर ३ चल्यो भनेर लगानी स्वाहा बनाउन निर्माता अग्रसर हुन्छन् ।

तर, यो जस्तै होइन नयाँ ट्रेन्ड सेट गर्ने फिल्म बनाउन जरुरी छ । होइन भने ए मेरो हजुर ३ का निर्माताले कमाए भनेर पछि लाग्दा आफू डुबेको निर्माताले थाहा नै पाउँदैनन् । यस्तै फिल्म होइन, फरक कथामा राम्रो फिल्म बनाउने होला ?