कथा बासी,  लोकेशन फ्रेस

नेपाली फिल्मका लागि अहिले लोकेशनको भूत सवार भएको छ । क्यामेरामा अब्बल भएको फिल्मले अहिले लोकेशनलाई महत्व दिन थालेको छ । लोकेशनलाई महत्व दिएको फिल्मले अहिले नेपालका लोकेशनबाट पनि आफूलाई तृत्त पारेको छ । अहिले लोकेशनका लागि विदेशी भूमी महत्व मानिन्छन् । एउटा मात्र गीत खिच्न भएपनि विदेशमा पुग्ने र विदेशमा अनुमती भन्दा पनि लुकिछिपी खिच्ने चलन चलेको छ ।

कृ फिल्मको कुरा गर्दा एउटा गीत खिच्न मात्र भएपनि अभिनेता र अभिनेत्री लिएर टिम स्कटल्याण्ड पुगेको  थियो । तर, यो फिल्मको स्कटल्याण्डको गीत नै सबैभन्दा कमजोर भएको थियो । यो गीतले पैसा सक्यो, फिल्मलाई फाइदा गरेन ।

यो त एउटा गीतको मात्र कुरा भयो । तर, अहिले त सिंगो फिल्म नै विदेशमा खिचेर फलानो देशमा खिचिएको फिल्म भनेर प्रचार गर्न निर्मातालाई कसैले सकेको छैन ।

तर, विदेशमा खिचिएका फिल्म बक्स अफिसमा सफल छन् त ? के विदेशी लोकेशनको शित्तलतामा दर्शक मख्ख छन् त ? यो बारेमा वुझ्न आवश्यक छ ।

लण्डन र स्कटल्याण्डमा पुरै खिचिएको फिल्म लिलिबिली पनि औषत चल्यो । दर्शकले लोकेशन भन्दा बढी फिल्ममा कथा खोजे । कथा औषत थियो ।

फिल्म लप्पन छप्पनको पनि कुरा गर्न सकिन्छ । यो सिनेमा यूरोपमा खिचियो । तर, यूरोपका सडकले दर्शकलाई तान्न सकेनन् । फिल्म चलेन । दर्शकले विदेशको लोकेशनमा मन बनाएनन् ।

नेपाली फिल्मका निर्माता अहिले विदेशमा फिल्म खिच्दा भयंकर नै हुन्छ भन्ने सोचमा छन् । तर, विदेशमा लोकेशन खोज्नु सुखद कुरा पनि हो । तर, यो भन्दा पहिले कथावस्तुमा मिहिनेत गर्नुपर्छ या पर्दैन भन्ने कुरा पनि मुख्य हो । कथावस्तुमा मिहिनेत नगरेर विदेशी लोकेशन मात्र खोजेर फिल्म चल्दैन ।

केही फिल्मले अनावश्यक रुपमा विदेशी लोकेशनमा गीत खिचेर खर्च बढाएका छन् । नेपालमै पाइने पर्याप्त र उस्तै लोकेशन भन्दा विदेशमा खिच्दा कलाकार र निर्देशकको नै नाक उचो हुने सोच पलाउन थालेको छ ।

लोकेशन फ्रेस भएमा दर्शकलाई मनपर्न सक्छ । तर, यो भन्दा पहिला स्क्रिप्टमा ध्यान दिनु आवश्यक छ । स्क्रिप्टमा खर्च नै नगरेर विदेशी लोकेशनमा मात्र पछि पर्ने हो भने, त्यसले फाइदा गर्दैन ।

विदेशमा लोकेशन पहिलो साध्य होइन । पहिलो साध्य फिल्मको कथा हो । यसतर्फ ध्यान दिऔं र यसमा मिहिनेत गरौ ।