के नेपाली फिल्मको प्रचार शैली फेर्न जरुरी छ ?

निर्देशक निश्चल बस्नेतले फिल्म निर्देशन नगरेको केही बर्ष हुन आँटेको छ । निश्चल फिल्म निर्देशनमा डराएका छन् । बरु, उनलाई अरुको फिल्ममा आइटम नाँचेर पैसा लिएपछि कानमा तेल हालेर बस्न नै आनन्द छ ।

निश्चल बस्नेतबाट नेपाली फिल्मले गरेको अपेक्षा यो होइन । किनकी, उनी फिल्म क्षेत्रलाई बदल्ने खेलाडी हुन् । उनै खेलाडी गोल गर्न सक्दिन कि भनेर डराएर एक्स्ट्रा खेलाडीको रुपमा कहिलेकाही मैदानमा सस्तो पाराले प्रवेश गर्नु तर्क संगत छैन । तर, निश्चलले जात्रै जात्रा फिल्मको कार्यक्रममा भने नेपाली फिल्मको प्रचारको तरिका फेर्न आवश्यक रहेको बताएका छन् ।

निश्चलको यो कुरा सही वा गलत, विश्लेषण गर्न सबैजनाका लागि छुट छ । तर, फिल्म क्षेत्रमा बहस भने यो बिषयमा सुरु हुन आवश्यक छ । किनकी, हामीले दर्शकलाई फिल्मको बारेमा जानकारी मात्र दिइरहेका हौं ? सोच्ने बेला आएको हो ।

नेपाली फिल्मको प्रचारवाजी सिमित घेरामा घेरिएर त्यसमै रमाएको हो कि ? कि हामीले प्रचारको नाममा आफूलाई ब्याक फायर हुने काम गरिरहेका हौ कि ?

कुरा भन्दा हल्ला बढी हुँदा दर्शकले कलाकारलाई नै पत्याउन छाडेका हुन् कि ? अहिले चल्न थालेको बहस यो हो । र यो बहस चर्किन आवश्यक छ । किनकी, फिल्म बनाउनुसँगै प्रचार गर्नुपनि ठूलो कुरा हो । फिल्मको प्रचारले यसलाई फाइदा गर्छ । तर, प्रचार कस्तो गर्ने भन्ने पनि सोच्न आवश्यक छ ।

एउटा सानो घेरामा बसेर संसार नै यही हो भनेर रमाउने हो भने पैसा त खर्च होला तर दर्शक हलसम्म पुग्दैनन् ।

अहिले कलाकारको भ्रम पनि यहीमा सिमित छ । युटुबमा दर्शकले तारिफ गरिदिकै छन्, विभिन्न पगरी भिराएर दर्शकले राम्रो भनिदिएका नै छन्, यत्ती भएपछि पुग्यो । कलाकारको सोच यसमै सिमित छ । तर, यो सूर्यलाई हत्केलाले छेकेर अन्धकारको भ्रेममा पर्नु जस्तै हो । नेपाली फिल्मका वास्तविक दर्शकसम्म त कलाकारको फिल्मको कुरा छाडौ, उनीहरुको अनुहार पनि दर्शकलाई याद छैन ।

यसैले निश्चलले भने जस्तै अब प्रचारको तरिका फेर्न आवश्यक छ । ठूलो जमात भिड गरेर बोल्दैमा दर्शक आकर्षित हुँदैनन् । दर्शकलाई आकर्षित गर्न पहिले आफू गरुङ्गो बन्न जरुरी छ । फिल्म पनि त्यस्तै गरुङ्गो बनाउन आवश्यक छ । अनी, प्रचारको तरिका पनि फेर्न आवश्यक छ ।

होइन भने, लाखौ खर्च गरेकै छु, युटुबमा भ्यूज बुष्ट गरेर पनि पाएकै छु भन्ने आत्मरतीमा रमाएर यता न उताको हुनुबाहेक अरु केही गर्न सकिदैन ।