‘गरुड पुराण’लाई पिजी सर्टिफिकेट

माघ ४ गते बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘गरुड पुराण’ सेन्सर पास भएको छ । केन्द्रिय चलचित्र जाँच समितिले यो फिल्मलाई बालबालिकाले आफ्ना अभिभावकको साथमा हेर्न मिल्ने गरी ‘प्यारेन्टल गाईडेड’ (पिजी) सर्टिफिकेट दिएको छ ।

निर्देशक सुवास कोईरालाले फिल्मलाई सेन्सर बोर्डका पदाधिकारीले मन पराएको उनले बताए । उनका अनुसार यो फिल्ममा ब्यान्ड बाजा बजाउने एउटा समुह र उनीहरुको परिवारले गरेको संघर्षको रमाईलो कथा उठाईएको छ ।
‘माघ महिना विवाहको बेला भएको र यो फिल्म बाजा बजाउनेहरुको कथा आधारित रहेकाले पनि फिल्मलाई विवाहको मौसम पारेर माघ ४ गतेबाट रिलिज गर्न लागिएको हो । फिल्मले दर्शकलाई पूर्ण मनोरञ्जन दिनेमा हामी विश्वस्त छौं’, निर्देशक कोइरालाले भने ।

फिल्ममा नाजिर हुसेन, कर्मा, लुनिभा तुलाधर, प्रविण खतिवडा, कमल दोवकोटा, सरोज श्रेष्ठ, प्रकाश घिमिरे, रश्मी भट्टसहितको यसमा मुख्य भूमिका रहेको छ । यही फिल्मबाट प्रियँका सिंह ठकुरीले नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेकी छिन् । अजित प्रजापति र अशोक गौतमले निर्माण गरेको यस फिल्ममा कसम नेपालको कथा, बिनोद खतिवडा, अकाश बराल र सुवासको पटकथा, सुसन प्रजापतिको छायाँकन, रिनाशा बान्तवा राईको नृत्य निर्देशन र उज्ज्वल ढकालको सम्पादन रहेको छ ।