फिल्म ‘घर’ को सुखद ब्यापार

शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘घर’ले शुक्रबार र शनिबार राम्रो व्यापार गरेको यसको निर्माणपक्षले बताएको छ । हरर जनरामा बनेको फिल्ममा दर्शकको चाप सुखद हुनु आफैमा राम्रो पक्ष हो । यसअघि फिल्म ‘सुनकेशरी’ले बिगारेको हररको बजार ‘घर’ले सुधार्ने अपेक्षा गरिएको छ ।

फिल्म निर्माण कम्पनी डीएस डिजिटलले दिएको जानकारी अनुसार, शुक्रबार र शनिबार फिल्मले ५० लाख माथिको ग्रस कलेक्शन गरेको छ । डीएस डिजिटलका सदस्य दिपेन्द्र के खनालले भने–‘हरर फिल्ममा जुन तरिकाको दर्शकको चाप देखिएको छ यसले हामीलाई हौस्याएको छ । सिंगल र मल्टिप्लेक्स दुबैमा फिल्मको व्यापार सुखद छ ।’

दिपेन्द्रले फिल्मलाई अपुरो शैलीमा सकेको बताउँदै दर्शकले ‘घर २’ बनाउन माग गरेको समेत बताए । उनले नेपालमा पनि हरर चलचित्रमा दर्शकको चाप राम्रो रहेकाले ‘घर २’ बन्नेतर्फ संकेत गरे ।

६० लाख रुपैयाँको लगानीमा बनेको फिल्मले हल र डिजिटल राइट्सबाट लगानी उठाएको निर्माण कम्पनीले दाबी गरेको छ । शर्मिला पाण्डेको लगानीमा बनेको फिल्मलाई अर्पण थापाले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा अर्पण थापा, सुरक्षा पन्त, बेनिशा हमाल लगायतको मुख्य भूमिका छ । फिल्मलाई दर्शकले रुचाएका छन् ।