भारतीय च्यानलमा ‘गोपी’ ट्रेलर समिक्षा

नेपाली फिल्म गोपी को ट्रेलरको समिक्षा भारतको एक मनोरन्जन च्यानलले गरेको छ । नेपाली संचारमाध्यममा खासै प्रचलनमा नरहेको ट्रेलर रिभ्यु भारतीय युटुव च्यानल टुडेजले गरेको छ त्यो पनि नेपाली फिल्मको । समिक्षक अनुपम सिन्हाले फिल्मको बारेमा निर्माता, निर्देशक, कलाकार सबैलाई समेटेर अभिनय र बिषयबस्तुमा समेत गहन अध्ययन गरि रिभ्यु तयार गरेका छन् । उनले फिल्मलाई इन्टरटेनिंग तथा सिरियस बिषयलाइ समेटेको तर प्रोडक्सन भने सामान्य मात्रै रहेको भनेका छन् । नेपाली फिल्म क्षेत्रमा सकारात्मक सुरुवात हुदै गएको र सबटाइटल राखेर प्रदर्शन गर्न सकेमा अझ बढी बजार र दर्शक बिस्तार हुन सक्ने कुरामा उनले जोड दिए ।

विपिन कार्की, सुरक्षा पन्त र बर्षा राउतका साथ फिल्ममा अंकीत खड्का, भोला सापकोटा, प्रकाश घिमिरे, रमेश अधिकारी, कुन्ति सिमली, हिउँबाला गौतम, सरोज अर्याल, इन्द्रजित चौलागाईं, केशव राई, कमल मणि नेपाल, अपूर्व गौतम, गणेश मुनाल राम बाबु गौतम लगायतको अभिनय रहेको छ । आरोही इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्मलाई दिपेन्द्र लामाले निर्देशन गरेका हुन् भने पटकथा सामिप्यराज तिमल्सेनाको रहेको छ । आरोही केसीको निर्माण रहेको फिल्मका कार्यकारी निर्माता श्रीधर पौडेल हुन् । फिल्ममा शैलेन्द्र डि कार्कीको छायाङ्कन र निमेष श्रेष्ठको सम्पादन रहेको छ । फिल्ममा विप्लव प्रतीक र बुद्धिसागरले लेखेका गीतलाई न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहले संगीत भरेका छन् भने शिव परियार, धुर्व विस्को, एन्जिला रेग्मी लगायतको स्वर सुन्न सकिन्छ । फिल्म माघ १८बाट प्रदर्शनमा आउँदै छ ।