हरिहर साझा पार्टी प्रवेश, फिल्ममा सफल होलान् कि राजनीतिमा ?

फिल्मी जगतमा फिल्म चलाउन विभिन्न किसिमका प्रोपोगान्डा फिल्म प्रदर्शन अगाडी हुने गरे कै छन् । यति मात्र नभएर लाइमलाइटमा आउन फिल्मकर्मीले विभिन्न तरिका अपनाउने कुरालाई समेत नकार्न सकिदैन । यसै क्रमको एक उदाहरणका रुपमा ‘राजनीतिमा कलाकार’ लाई समेत लिन सकिन्छ । करिश्मा मानन्धर, रेखा थापा, कोमल वली लगायतको राजनीतिक पार्टी प्रवेश र परिवर्तन निक्कै चाखलाग्दो छ । यहि क्रममा हालसालै अर्को नाम जोडिन पुगेको छ, युवा ज्योतिष तथा नवनायक हरिहर अधिकारीको । केहि समय अघि मात्रै फुटेको पुर्व संचारकर्मी रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझाको सदस्यता लिएर अधिकारीले राजनीतिमा हात हालेका छन् ।

बुद्ध इन्टरटेन्टमेन्टको व्यानरमा निर्माण भैरहेको फिल्ममा युवा ज्योतिष अधिकारीका साथमा नवनायिका कृष्टिन पौडेलले फिल्ममा डेब्यु गर्दै छिन् । सन्तोष बाबु लोहनीले निर्देशन गरेको यो फिल्म चैत १५ बाट प्रदर्शनमा आउने छ । प्रदर्शन मिति नजिकिदै गर्दा प्रोमोसनको चटारो समेत बढेको छ । यहि बीच फिल्मका मुख्य कलाकार अधिकारीले राजनीतिमा प्रवेश गरेका छन् ।

यस अघि समेत दुई फिल्मको लागि अभिनयको अफर आए पनि उनले उचित समय नआएको भन्दै आफुले नखेलेको बताएका छन् । यस पटक भने उनी नयाँ हिरोइनसंग रोमान्स गर्न तयार भए । फिल्ममा समेत ज्योतिषी कै भूमिका भएको कारण पनि आफु फिल्मतर्फ आकर्षित भएको उनले बताउदै आएका छन् ।

रेडियो र टेलिभिजनमा कार्यक्रम समेत बन्द नै गरेर उनी फिल्ममा लागेका छन् । अघिल्ला अनुभवहरुका कारण अधिकारीलाई क्यामेरा फेस गर्न खासै समस्या नआए पनि उनको अभिनय तारिफयोग्य छ, छैन त्यो हेर्न फिल्म रिलिजको समय कुर्नुपर्ने छ ।

स्पष्ट वक्ता, आकर्षक व्यक्तित्व र अरुलाई आकर्षित गर्न सक्ने आवाजका कारण उनी धेरैको मनमा बस्न सफल छन् । यो त भयो बाहिरी आवरणको कुरा उनी आफ्नो क्षेत्रमा कम उमेरमा नै प्रख्यात बनिसकेका छन् ।

अधिकारीले आफ्नो पेशामा समेत छुट्टै पहिचान बनाउन सफल भैसकेका छन् । विज्ञान विषय पढ्दा–पढ्दै ज्योतिष क्षेत्रमा प्रवेश गरेका हरिहरले नेसनल टेलिभिजनबाट आफ्नो करियर सुरु गरेका थिए । त्यसपछि उनले हिमालय टेलिभिजन, रेडियो अडियो, क्लासिक एफएम, कान्तिपुर एफएम, भक्ति दर्शन टेलिभिजन हुँदै कान्तिपुर टेलिभिजनमा पुगेर ज्योतिषशास्त्रलाई फैलाउन मद्दत गरे ।

अनुसन्धान गर्दै ज्योतिषलाई नयाँ शैलीमा प्रस्तुत गरेकै कारण अधिकारीले सन् २०१५ मा श्रीलंकामा बेस्ट एस्ट्रोलोजर अफ नेपाल तथा दुबईमा सम्पन्न ज्योतिष भेलामा बेस्ट एस्ट्रोलर अफ एसियाको पुरस्कारले सम्मानित भएका थिए । त्यस्तै भारतमा उनले म्यान अफ दि इयर इन एस्ट्रोलोजीलगायत थुप्रै सम्मान पाएका छन् । यसरी हेर्दा उनलाई चर्चाको लागि फिल्ममा आउन जरुरी भएको देखिदैन ।

आफूलाई राजनीतिमा समेत रुची रहेको बताउदै आएका अधिकारीले यसरी अचानक गरेको राजनीति प्रवेशले उनी आफैले समय लिएर निर्णय गरि खेलेको फिल्मलाई सकारात्मक या नकारात्मक कस्तो किसिमको असर पर्ला ?

कुनै पनि एक व्यक्ति कुनै एक बिषयमा नै सफल हुनु पर्छ भन्ने कुनै नियम त छैन । तर यसो भन्दैमा आफुले हात हालेको सम्पूर्ण क्षेत्रमा सफल नै बनिन्छ भन्ने पनि होइन । ज्योतिषशास्त्रमा सफल अधिकारीले फिल्ममा हात हाले । फिल्ममा उनको अभिनय मात्रै नभएर कथा समेत रहेको छ । यसरी हेर्दा उनी अभिनयमा मात्रै पनि सिमित हुन चाहदैनन् । फेरी फिल्म प्रदर्शन नै नभई उनी राजनीति तर्फ तानिएका छन् । त्यो पनि भर्खरै मात्रै फुटेको पार्टीमा । यसले उनको आउदै गरेको फिल्म, व्यक्तिगत जीवन र पेशागत रुपमा कस्तो प्रभाव पार्ला समयले नै बताउला । अधिकारीलाई अहिलेसम्म पाएको सम्मान ‘दुई नाउँमा खुट्टा’ झैँ चै नहोस्, शुभकामना ।