यो वर्ष चम्किएका ५ हिरोइन

नेपाली फिल्म यो बर्ष चलेनन् । फिल्म किन चलेनन् भनेर बहस गर्छन् सबै । तर, सबैले गर्ने बहसको कारण फरक फरक छ । यही कारणले नै हो फिल्म नचलेको भन्न सकिने अवस्था छैन ।

फिल्म नचलेपनि यो बर्ष केही अभिनेत्री चम्किएका छन् । केही अभिनेत्रीको फिल्म बजारमा राम्रो माग भयो । उनीहरुले अभिनय गरेको फिल्म चलेपनि नचलेपनि उनीहरुको क्रेज राम्रो बन्यो । अभिनयका माध्यमबाट पनि दर्शकलाई उनीहरुले मख्ख बनाएका छन् ।

१. स्वस्तिमा खड्काः फिल्म होस्टेल रिटन्र्सबाट उदाउँदा स्वस्तिमालाई लामो रेशको घोडाको रुपमा हेरिएको होइन । किनकी, स्वस्तिमा यति लामो जालिन् र कुनै बर्ष नम्बर १ नै बन्लिन् भनेर सोच्ने कमै थिए । तर, स्वस्तिमाले आफूलाई परिवर्तन गरिन् । नाई नभन्नु ल ५, जय भोले र बुलबुल यो बर्ष स्वस्तिमाले काम गरेका फिल्म हुन् । तिनै फिल्ममा उनको अभिनय बुलन्द थियो । झन्, बुलबुलको बुलन्द अभिनयले स्वस्तिमालाई उचाइमा लग्यो । स्वस्तिमा अभिनित नाई नभन्नु ल ५ र जय भोले चलेका थिए । बुलबुल नचलेपनि तारिफ पायो । स्वस्तिमालाई अर्को बर्ष पनि फिल्मको अभाव नहुने देखिन्छ । स्वस्तिमाको मिहिनेत र काम सार्थक भएको बर्ष हो यो ।

२. साम्राज्ञी राज्यलक्ष्मी शाहः कायरा र इन्टु मिन्टु लण्डनमा अभिनेत्री साम्रात्री राज्यलक्ष्मी शाहको यो बर्ष रिलिज भएका फिल्म हुन् । यी दुबै फिल्मलाई साम्राज्ञीलाई मुस्कान दिएनन् । तर, दुबै फिल्मको चर्चा फिल्म क्षेत्रमा भएको थियो ।

कायरा र इन्टु मिन्टु लण्डनमा ठिकठाक चल्दा पनि साम्राज्ञीको क्रेज कमजोर बनेन । उनी मारुनी फिल्ममा १५ लाख लिएर काम गरिरहेकी छिन् ।

उनले रातो टिका निधारमा फिल्मका लागि १६ लाख लिएकी छिन् । साम्राज्ञीलाई लभ जनराका फिल्मका लागि अफर आउन कम भएन । उनले आफूलाई रिजर्भ राखेकी छिन् र महंगी पनि भएकी छिन् । दर्शकको रोजाइमा उनको नाम सधै अग्रस्थानमा आउने गरेको छ ।

३. मेनुका प्रधानः साइँली फिल्ममा अभिनेत्री मेनुका प्रधानले गरेको अभिनयले दर्शकलाई प्रभावित बनाएको छ । गौरव पहारीको जोडीको रुपमा साइँलीमा देखिएकी मेनुकाले आफ्नो दमदार अभिनयले दर्शकको मन जितिन् । मेनुका प्रधान फिल्ममा काम गर्न बाहेक अरु समयमा संचारमाध्यममा धेरै आउने अभिनेत्री पनि होइनन् । तर, उनी फिल्ममा काम गर्दा आफ्नो शत प्रतिशत दिने कोशिश गर्छिन् ।

४. नम्रता श्रेष्ठः प्रसाद फिल्मले यो बर्ष पनि अभिनेत्री नम्रता श्रेष्ठको उचाई घट्न दिएन । नम्रता श्रेष्ठले प्रसादमा सन्तान नहुँदाको पीडा भोग्ने आमाको भूमिका निर्वाहा गरेकी थिइन् । नम्रताको नक्कली कपालले केही खल्लो बनाएपनि उनको अभिनयले भने भुतुक्कै बनायो । एक बर्षमा एउटा फिल्म खेल्ने तर राम्रो खेल्ने अभिनेत्री हुन् नम्रता । मिहिनेत नम्रताको यही बानीले पनि दर्शकले उनलाई पत्याएका छन् । नम्रताले यो बर्ष जाइराका लागि पनि मिहेनत गरेकी छिन् । जाइरामा उनी बक्सरको भुमिकामा छिन् ।

५. शिल्पा मास्केः दि ब्रेकअपबाट डेब्यू गरेकी शिल्पा मास्केको कागजपत्र फिल्म पनि यो बर्ष आएको हो । यी दुबै फिल्मले दर्शकको मन जितेनन् । तर, फिल्मले दर्शकको मन नजितेपनि शिल्पाको कामले दर्शक रिझायो । शिल्पाले आफूलाई अभ्यस्त अभिनेत्रीको रुपमा चिनाइन् ।

उनले संचारमाध्यममा दिएको अन्तर्वार्ताले पनि राम्रो स्थान पाएको  थियो । शिल्पा मास्केका फिल्म नचलेपनि उनी संभावना बोकेकी अभिनेत्रीको रुपमा चिनिइन् ।