क्याप्टेनको  रिलिजले झरनालाई छटपटी

अभिनेत्री झरना थापाको सिनेमा रिलिज हुन भन्दा २ महिना अघि तहल्का भैसक्थ्यो । ए मेरो हजुर २ को रिलिजको समयको प्रचारलाई हेर्दा पनि यो कुरा भन्न सकिएला । तर, यसपटक भने झरना फिल्म रिलिज हुन २ महिना पनि नरहेको समयमा पनि मौन बस्न पर्ने अवस्था छ ।

अभिनेता अनमोल केसीको होम प्रोडक्शनको फिल्म क्याप्टेन फागुन १७ मा रिलिज हुँदैछ । यो फिल्म रिलिज नभएसम्म झरनाले ए मेरो हजुर ३ को प्रचारलाई तिव्रता दिन पाउने छैनन् ।

तर, झरनालाई फागुन १७ कुर्न नै सकस भएको छ । यही भएर होला, उनी सामाजिक संजालबाट नै फिल्मको प्रचार गरिरहेकी छिन् ।

ए मेरो हजुर ३ को टिजरबाहेक अरु पब्लिसिटीको बिषय सार्वजनिक गर्न नपाएपछि उनी सामाजिक संजाल केन्द्रित छिन् ।

चैत्र २९ गते रिलिज हुन लागेको फिल्मको फोटो नै सार्वजनिक गरेर उनले हामीहरु आउँदैछौ भनेर जानकारी दिइरहेकी हुन्छिन् ।

झरनालाई यो फिल्म आफ्नो लागि भन्दा पनि छोरीका लागि बढी पिर छ । छोरी सुहानाको डेब्यू फिल्म भएकाले पनि ए मेरो हजुर ३ चल्नैपर्ने दबाबमा उनी छिन् । तर, क्याप्टेनले रोकेको प्रचारले  उनलाई छटपटी भैरहेको छ ।