काजीकी आमाको कथा

चुलोमा खाना पकाउंदै गरेकी छिन्, आमा । छेउमा ढेसिएर बाउ बसेको छ । छोरोलाई सम्झाउन खोज्दैछन् बाउआमा । आज घरसल्लाह छ । तर छोरो मान्ने वाला छैनन् । त्यसैले छोरोलाई रिसाएर आमा भन्दैछिन् –“हन कस्तो चांही छोरो जन्माएछु ।” यो बेला काजी बनेका दयाहाङ भन्छन् –“तिम्रो छोरो हिरै छ त ।” यो दृश्य फिल्म कबड्डीको हो ।  अहिले उक्त फिल्मले आफ्नो तेस्रो सिक्वेलसम्म आईपुग्दा काजी पात्रले निकै नै घरमा बाउआमालाई पिर दिएका छन् । त्यस्तो घामड छोरो काजीको आमाको भूमिकामा संधै देखिएकी चर्चित पात्र हुन्, कविता आले (६२) ।

उनी कलाकारिता भन्दा पनि गायीकाको रुपमा हिट भैसकेकी ब्यक्ति हुन् । उनी कलाकार मात्र नभै चर्चित गीत “झ्याम्मै चौतारी माया लाउ भने छैन दौंतरी” बोलको गीतकी गायीका पनि हुन् । गायक क्रान्ति आलेका आमा पनि हुन् । अझ भनौ कुनै घरको फोटो एल्वममा नछुटेको हिकोला एल्वम र कलर ल्यावका सञ्चालक पनि हुन् । उनै गायीका तथा कलाकार कविता आलेसंग गफिन हामी वहांको घर पुग्यौं ।

हाल उनी भैसेपाटी स्थित पञ्चकन्या टोलमा अढाई तलाको घरमा बस्छीन् । फिल्ममा त उनलाई छोरोले खुबै दुख दियो । बास्तविक जीवनमा चांही उनका छोरोले कतिको दुख दियो यो जान्न हामी शुक्रबार उनको घरमा पुग्यौं । हामी त्यहां पुग्दा कविता आले नाना (दिदी)ले  हामीलाई पराई सम्झीदै गरेको कुकुरलाई बांध्नु भयो । अनि हामीलाई घरभित्र निम्तो दिनुभयो ।

मगर फिल्म लांघनबाट अभिनयमा उनको पाईला अघि बढेको हो । २०५१ सालतिर रेडियो नेपालमा मगर भाषाको समाचार वाचन गर्थिन् उनी । त्यस अघि उनले २०३२ सालमा झ्याम्मै चौतारी गीत गाईन् । जुन निकै हिट बनेको थियो त्यो बेला । २०५५ सालतिर मगर फिल्म मोई (आमा) मा अभिनय गरीन् । प्राय उनी अहिले आमाको अभिनयमा धेरै देखिन्छीन् । उनी भन्छिन् –“मलाई प्राय आदिवासी जनजातिका आमाको रुपमा बढी भूमिका दिने गरेका छन्”। त्यस समयमा उनले सहयात्री नामक सिरियलमा अभिनय गरेकी थिईन् । उनलाई भाउजुको अभिनयको लागि पनि अफर आएको पनि बताईन् । हांस्दै सुनाईन् –“मलाई पहिले पहिले भाउजुको रोल निकै आउंथे, अहिले बुढी भएछु क्यार आमामा फिट देखिन्छु, सबैले आमा भूमिकामा अफर गर्छन्”। उनले तिन दर्जन फिल्ममा आमा क्यारेक्टरमै अभिनय गरिसकेका छन् । उनलाई मन पर्ने पांच फिल्म बन्धकी, गोर्खा पल्टन, हंगामा, कबड्डी र मतान हुन् । उनले आफ्नो सहायक रोलको पारिश्रमिक पचास देखी सत्तरी हजार रुपैयां लिने गरेको बताईन् । उनी फिल्मका लागि खोज्दै जादिनन । आमाको रोलमा भन्दै खोज्दै निर्देशकहरु आईपुग्ने उनि बताउछीन् ।

२०६७ सालमा संगित तथा नाट्य प्रतिष्ठानको सदस्य पनि भईन् । उनले सहयात्री, पथभ्रष्ट, हस्पिटल, भाइरस, मह चौतारी, हाम्रो टिम, सिंह दरबार, साल्गीको बलात्कृत आंसु, सांघु तरेपछि जस्ता सिरियलमा पनि काम गरेकी छिन् । निकै राम्रा राम्रा लोक गितहरु पनि गाएकी छिन् । युट्युवमा थुप्रै उनको कालजयी आवाज सुन्न सकिन्छ ।

उनी अहिले एकल महिला हुन् । श्रीमानको मृत्यु दुर्घटनामा भएको रहेछ । उनले सत्र वर्ष अघिको घटना पनि सुनाईन् । विर्तामोड जांदा उनको जिप दुर्घटना भएको रहेछ । धरानमा उपचारका लागि लगिएको थियो । तर प्रयास सफल भएन । उनले भावुक बन्दै भनिन् –“नौं दिन पछि वहांको निधन भयो” । उनी विगत सम्झीदै भन्छिन् –“विहे गरेको २९ वर्ष भयो पहिले पटक वहांलाई रोएको देखें । वहां बेडमा हुनुहुन्थ्यो । म काठमाण्डौबाट वहांलाई अस्पतालमा भेट्न पुगेको थिएं । मलाई देखे पछि रुंदै वहांले मेरो त जहाजै डुब्योनी भनेर भन्नु भयो ।” उनले भनिन् –“अहिले पनि मेरो कानमा त्यो शब्दहरु ठोकिन्छन्” । नानाको यो कुरा सुन्दा एकछिन हामीमा सन्नाटा छायो । तर फर्साईली इलामे नानालेनै हामीलाई भावुक बन्न दिनु भएन । तुरुन्त प्रसंग अन्तै मोडिदिनुभयो ।

गफिने क्रममा कविता नानाले एकजना चिना हेर्ने बाहुनले सानोमा यो केटी फिल्ममा काम गर्छे भनेको कुरा पनि सुनाउनु भयो । भनिन् म –“सानोमा भान्सामा थिएं, मेरा बुबाले बाहिर सिकुवामा मेरो चिना हेराउनु हुंदै थियो यो कुरा मैले सुनेकी थिएं ।” भन्छिन् –“सवैले राम्री भन्थे मलाई तर मलाई नलजाई गित गाउन र अभिनय गर्न दुई वर्ष लाग्यो ।” उनलाई खुबै लाज लाग्यो रे उ बेला । अफर धेरै आए तर नगरेको उनले सुनाईन् । विगतको अवस्थाबारे कुतकुताउंदै उनि भन्छिन् –“तर अहिले यसमै जमेको छु, अहिले सम्झीन्छु किन त्यै बेला मैले नगरेको होला भनेर ।”

यहिं बेला वहांको सहयोगीले चिया ल्याईपु्याईन् । कविता नानाले चियातिर पनि हात बढाउन आग्रह गर्नु भयो । गफिने क्रम जारीनै थियो । आफ्नो परिवारका विषयमा हामी केन्द्रीत भयौं ।

कविता नानाको दुई छोरा र दुई छोरी छन् । सबैको विहे भैसकेका छन् । छोरा छोरी दुवै पटिबाट नातिनातिना नौं जना छन् । तर छोरा बुहारी कोही घरमा छैनन् । छोरी ज्वाईको घरमा । दुई छोरा बुहारीसंगै विदेशमा । न्यास्रो लागेर जेठी छोरिको नातिनी राखेकी रहेछिन् आफूसंग । भावुक बन्दै भन्छिन् –“एक्लै जिउनु सिक्नु पर्दो रहेछ” । मेरा दाई दिदीहरु यस्तै हो कविता बैनी भन्नुहुन्छ । मनमा गुन्छु । चित्त बुझाउंछु । उनलाई दुईटै छोरा आफूसंगै बसोस जस्तो लाग्दोरहेछ । एकैछिनमा मुहारमा मुस्कान पोत्दै भन्छिन् –“तर उनिहरुको पनि परिवार पाल्नुप्यो हैन र?” भन्दै उल्टै प्रतिप्रश्न गरिन् नानाले । छोराहरु हङकङ र युकेमा रहेछन् । चाडपर्वमा भने निकै जमघट हुन्छ मुलघरमा । उनी बुहारीहरुसंग निकै खुशीनै रहेछीन् । कारण दुवै बुहारीले भाइवरमा कल गर्ने गरेको उनले बताईन् । “चाडबाडमा अटिई नटिई हुन्छ यो घर, अरुबेला एक्लो” भित्तामा टांसीएको परिवारको तश्विर हेर्दै भनिन् –“बुहारीहरुले हप्तामा तिन पटक फोन गर्छन् । मसंग भाइबरमा कुरा हुन्छ ।” यो बेला नानाको मुहार उजेलीएको थियो । उनी बुहारीहरुलाई खुबै माया गर्दिरहेछीन् । उनका आंखा भित्तामा छोराबुहारीको तश्विरमा रोकिएको थियो । कारण खोतल्दै भित्तामा टांसीएको बुहारीहरुका तश्विर हेर्दै उनले भनि हालिन् –“मैलेनै खोजेर यिनिहरुको झ्यांई झ्यांई विहे गर्देको होनी ।”

उनले नयां रहस्यको कुरा बताईन् । भन्छिन् –“बच्चाहरुले बुढाबुढीलाई बचाउंदो रहेछ ।” उनी प्रस्ट्याउंदै भन्छिन् –“उनीहरुको काम चित्त बुझ्दो हुंदैन अनि कराउनु पर्छ । उनीहरुनै नभए कोसंग बोल्नु ।” मान्छे नबोलीकन कसरी बस्न सक्छ ? उनीहरुसंग खेल्नु पनि रमाईलो हुने उनले बताईन् । भन्छिन् –“एक्लै बस्दा शरिरमा उमंग हुंदैन कमसेकम केटाकेटीले हामीलाई हुटहुटी पैदा गराईदिदो रहेछ ।”

अहिले उनको हिकोला कलर ल्याप अहिले बन्द छ । प्रष्ट्याउंदै भन्छिन् –“म व्यापारी होइन रहेछु, श्रीमानका कारण व्यवसाय गरियो, यो मेरो आत्मा कलाकार हुनको लागि जन्मेको जस्तो लाग्छ, तर मलाई ब्युंतिन समय लाग्यो, घरी घरी पश्चाताप लाग्छ ।” गत साल उनले एकल महिलाले पाउने भत्तामा आफ्नो नाम पनि टिपाएकी छिन् । त्यो भत्ता अनाथलयमा दिने योजनामा छ उनको । भन्छिन् –“म धार्मिक आस्था राख्छु ।” आफ्नो कुल देउता बुढी बजु पुजा गर्ने बताउछीन् ।

फर्साइली इलामेली नाना निकै गफिनु जान्नुहंदो रहेछ । हामीलाई तिन घण्टा वितेको पत्तै भएन । कुराकानी लम्वीएछ क्यारे । गफिन माहिर नानाले बेला बेलामा खुबै हंसाउनु पनि भयो । सांझै परेछ । ढोकासम्म छोड्नु आउनुभयो नाना । आउंदै गर्नुस है भन्दै नानाले विदाको हात हल्लाउंदै गर्दा हामी निकै पर पुगिसकेका थियौं । अघिको भुक्ने कुकुर यो पटक भुकेन । सायद यिनीहरु मेरा मालिकका आफन्त रैछन् भन्ने उसले पनि बुझ्यो होला ।