स्कटीस युवतीसँग नेपाली युवाको प्रेम फिल्म ‘कैदीको पत्र’

साहित्यकार सनमकुमार बैरागले अर्का साहित्यकार स्व. इश्वर मानन्धरको चर्चित कथा ‘कैदीको पत्र’ मा फिल्म निर्माण गरिरहेका छन् । २६ जुलाईबाट बेलायतका बिभिन्न स्थानमा छायांकन भइरहेको ‘कैदीको पत्र’ को निर्देशन बैराग आफैले गरेका छन् । त्यति मात्रै होइन फिल्मको पटकथा, सम्वाद र गीत पनि उनी स्वयम् ले लेखेका हुन् ।

अध्ययनको क्रममा नेपालबाट बेलायत पुगेको एक युवकको स्कटीस युवतीसँगको प्रेम र त्यसबाट सृजना भएको बिषम परिस्थितिको बिषयमा रहेको फिल्मको एउटा गीतको छायांकनमा क्रममा गत सोमबार बेलायतका राजदुत साहित्यकार दुवसु क्षेत्री उपस्थित भएका थिए । राजुदूत क्षेत्री सुटिङ स्थलमा उपस्थित भइ आफूहरुको हौसला बढाएको निर्देशक बैरागले बताएका छन् ।

फिल्ममा म्याडिसन लाजारस,कुनाल बिश्व,सलिना थापा मगर,पृथ्वी क्षेत्री,किरण कार्की, क्यारी डुड्स,चरण प्रधान,मनिष श्रेष्ठ, सुस्मिता थापा, सुवर्ण थापाले अभिनय गरेका छन् । रामेश्वर कार्कीको छायांकन,कबिराज गहतराजको कोरियोग्राफी,सम्राट बस्नेतको द्धन्द्ध निर्देशन,सुरेश सेन्चुरी र बिनम्र कर्माचार्यको संगीत रहेको फिल्मको मुख्य सहायक निर्देशक रामशरण कोइराला र सहायक निर्देशक सुस्मिता थापा हुन ।

कलिना–रुबिन श्रेष्ठ,हिराल आमीन जोशी र दिल घले निर्माता रहेको फिल्मको हालसम्म ५० प्रतिशत छायांकन सकिएको जानकारी निर्देशक बैरागले दिएका छन् । हालसम्म स्कटल्याण्डको क्रिफ,आवरफेल्दी,केनमोर,किलिङ्ग,ग्लास्को,ओवनलगायतका स्थानमा सुटिङ गरिएको ‘कैदीको पत्र’ को छायांकन सकिन अझै दुई साता बढी समय लाग्ने बताइएको छ ।