कलाकारको बोली आफैलाई गोली

जब सम्म बोलिदैन, बोली आफ्नो नियन्त्रणमा हुन्छ । जब बोलिन्छ, बोलीले आफुलाई नियन्त्रण गर्न थाल्छ । हो यही कारण,  कलाकारहरु आफ्नै बोलीले समय समयमा विवादमा पर्ने गरेका छन् । सामाजिक संजाल साथै संचार माध्यममा उनीहरुको अल्पज्ञानको कारण साथै भाति नपुर्याएर बोलेका विषयले लामै समय चर्चा पाउने गर्छन् । कतिपय चर्चाले सकारात्मक फाइदा पनि होला तर कतिपयले मानसिक दवाव समेत सिर्जना गरिरहेको हुन्छ । सम्पादन गरेर संचार माध्यमद्वारा सम्प्रेषण गर्नु पर्ने यस्ता विषयवस्तुतर्फ पत्रकारहरुको पनि बिरलै ध्यान गएको देखिन्छ ।

अहिले चर्चामा रहेको विषय – वर्षा राउतको अभिव्यक्तिका कारण सामाजिक संजालमा गएको भुइचालोबारे चर्चा गरौ । वर्षाले भिडियोमा भनेकी थिईन् – “देशको माया लाग्छ भन्दैमा, यो हाम्रै हो । तिमीहरुले किन यस्तो गरेको भनेर झगडा गर्ने कुरा होइन नि त ! दुई देशको सरकार बीच टेबुल टक गरेर समस्या समाधान पर्ने विषय हो नि । यहाँ त दुवै तर्फका जर्नालिस्ट मिलेर दुवै देशको मिडियाले झगडा बनाइरहेको छ । यस्तो स्थितिमा भारतको ‘फ्रेन्ड्स’ लाई मैले कसरी फेस गर्ने मलाई उनीहरुले कसरी फेस गर्ने ।” यस भिडियोमा यति सम्म अभद्र प्रतिक्रिया आउन थाल्यो कि उक्त च्यानल संचालकले प्रतिक्रिया गर्न नमिल्ने बनाए । तर ध्यान दिनु पर्ने विषय, विश्वका जति सुकै महत्वपुर्ण लाइभ समेत ५ सेकेन्ड रोकेर प्रसारण गर्छन् भने यो भिडियो सार्वजनिक गर्न हतारो गरिएको देखियो । संचार माध्यमको मुख्य विषय भनेको सहि समाचार सम्प्रेषण गर्दै श्रोता, दर्शकलाई सुशुचित गराउनु हो । विवादमा आउन सक्ने विषयलाई पुर्व अध्ययन गरेर पटक पटक पुरै अन्तर्वार्ता हेरेर सम्पादन गरेर सार्वजनिक गर्नु पर्नेमा यसै हतारमा सार्वजनिक गरेको देखियो । समस्या सिर्जना हुनुमा यहिनै महत्वपुर्ण कारक बनेको देखिन्छ । बर्षाको भन्ने तरिका गलत भए पनि उनको आशय भने गलत थिएन । तर एक कलाकार भएको हैसियतले सोचेर नबोल्नु साथै थाहा नभएको विषयमा धेरै बोल्नु गलत देखिन्छ ।

सोही कार्यक्रममा आएकी प्रियंका चुप रहँदा वर्षा भने ज्ञान कम हुँदा हुँदै पनि बोल्न हतारिएको देखियो । यस स्थितिमा बर्षाको तस्विरलाई भारतीय प्रधानमन्त्री मोदीसंग जोडेर ट्रोल बनिरहेको छ । त्यति मात्र नभएर अश्लिल गालीको बर्षा समेत भएको छ । यस स्थितिलाई रोक्न ‘जिरो टोलरेन्स’ को अवधारणा सहायक बन सक्छ । तर जबसम्म संचार माध्यममा सम्पादन तर्फ ध्यान दिईदैन तबसम्म पूर्ण रुपमा रोकिन भने सम्भव छैन ।

यो विषय बढ्दै जादा उनले सामाजिक संजाल मार्फत एक पोष्ट सार्वजनिक गर्दै माफी मागिन् । तर माफी माग्दै गर्दा समेत उनले आत्माआलोचना गरेको अनुभूत हुदैन । कुरा यतिमै रोकिएन । पत्रकार ऋषि धमला उनको घर सम्मै पुगे, अन्तर्वार्ता लिन । ‘भारतिय प्रधानमन्त्रीसंग सिधा फोन सम्पर्क गर्ने हैसियत राख्छु’ भनेर विभिन्न सार्वजनिक कार्यक्रममा बोल्ने धमलाको चासो पछिल्लो समय भने नायिका विवाद तर्फ बढेको छ । सिमा विवाद तर्फ ध्यान नदिदै उनी नायिकाको बासस्थान पुगे । धमलाले नायिकाको घरमै पुगेर अन्तर्वार्ता लिएको यो पहिलो पटक होइन ।

खैर, उनीसंगको अन्तर्वार्तामा वर्षाको बोली फेरी पनि चिप्लियो । सिनियर र जुनियर पत्रकार भन्दै उनले पत्रकारकै वर्गीकरण गर्न भ्याईन् । यतिमै रोकिएन उनको अभिव्यक्ति, पछिल्लो समयको अन्तर्वार्तामा समेत पटक पटक प्रयोग गरेको ‘जनता’ शब्द यो अन्तर्वार्तामा त कति पटक प्रयोग भयो भयो । ताजुब त तब लाग्छ जब उनले ‘पत्रकार र कलाकार साथिसाथी हुन्, एक साथ कार्यक्रममा जानु पर्छ’ भन्छिन् । गलत शब्दावली छनौटले समस्यामा परेकी उनले आफुलाई सुधार्छु भनेको त फेसबुक पोष्टमा मात्र रहेछ । अन्तर्वार्ताको क्रममा उनले दिएको एक उदाहरण अनुपम खेरको ट्वीट न त अनुपमले लेखेका हुन्, न यो उनको रियल अकाउन्टबाट आएको हो, न सार्वजनिक तस्विर सिमा विवादको समयमा आएको हो । सुधार्न लागि परेकी वर्षा अझ चिप्लिएको देख्न सकिन्छ ।

केही वर्ष यता युट्युवमा यस्तो ट्रेन्ड चलेको थियो की संचारकर्मीहरु कलाकारको घर हुदै बेडरुम सम्मै पुग्न थालेका थिए । घर कस्तो छ, बाट सुरु भएको यात्रा नायिकाको स्याण्डल, ब्याग हुदै भित्री बस्त्र र बेड कभरसम्मको चर्चामा पुग्यो । यो समयमा कलाकार आफैँ समेत चर्चाको लागी पत्रकारलाई घर भित्रयाउन आतुर देखिन्थे । यसको परिणाम महिनावारी सम्बन्धी जानकारी दिन तयार गरिएको प्रियंका कार्की र आयुष्मान देशराजसंगको एक भिडियोको शिर्षक ‘आयुष्मानकै अगाडी प्रियंकाले देखाईन् भित्री बस्त्र’ मार्फत छरपस्ट भयो ।

त्यस पछि ट्रेन्ड बदलिने क्रममा केक लिएर आधा रातमा कलाकारको घर पुग्ने प्रचलन शुरु भयो । यति सम्म प्रतिष्पर्धा चल्यो की कतिपय कलाकारको दिन त विभिन्न संचारमाध्यमबाट आएका केक काट्दा काट्दै नै बित्थ्यो । यसलाई कलाकारले आफु चर्चामा आउने माध्यम बनाए र रमाइलो गरे । यता मिडियामा काम गर्ने व्यक्तिहरुलाई कलाकारसंगको निकटताले दर्शक तान्न सहज भयो । तर परिणाम फरक आइदियो । ‘अति भयो भने खति हुन्छ’ भने झैँ पूजा शर्माको जन्म दिनमा भित्री बस्त्र देखिएको भिडियो सार्वजिक भयो । उक्त विषयलाई न त सम्पादन गर्न आवश्यक ठानियो न कलाकारले पत्रकारसंगको दुरी राख्न सफल भइन् । सम्पादित भिडियो रिप्लेस हुन लामै समय लाग्यो ।

अन्जली अधिकारीको ‘रिलेशनशिप स्ट्याटस’ को चर्चा समेत सामाजिक संजालमा धेरै नै ट्रोल बन्यो । यसको कारण समेत भिडियो सम्पादनमा बेवास्ता र कलाकारको पत्रकारसंगको निकटतालाई लिन सकिन्छ । अझ भिडियोको हाइलाइटमा तानेर उनको चरित्रहत्या प्रयास गरियो । प्रियंका कार्कीको धेरै पुरानो अन्तरर्वार्ताबाट सार्वजनिक भएको ‘अमेरिका र युएसए’ को विषय र पछिल्लो समयको हनिमुन चर्चा जस्मा जिब्रो चिप्लिएको मात्रै थियो, तर यहि आधारलाई टेकेर उनको चरित्र माथि पटक पटक औला उठाइयो । यो विषयमा भन्न नपर्ला सम्पादन गर्न सकिने थियो । किनकी फेरी पनि संचार मध्यमको मुख्य उद्येश्य सहि सुचना प्रवाह गर्नु नै हो ।

एक अन्तरवार्ताका क्रममा अभिनेत्री आंचल शर्माले ‘श्रीमानलाई सलमान खान भन्दा सुन्दर लाग्छ’ भनेर बोलेको विषय ट्रोल बन्यो । तर उनले अर्को अन्तर्वार्तामा आफुले बोलेको कुरा सम्पादन गरेर प्रसारण गरेको बताएकी छिन् । व्यक्तिगत सम्बन्ध एक ठाउँमा छन् । तर पेशागत धर्मलाई ध्यान दिन जरुरि देखिन्छ । पछिल्लो समय अनुराग कुँवरको घरको जमघट देखि वर्षाको विषयलाई यहि निकटताको परिणाम भन्दा फरक नपर्ला ।

तर, आफ्ना व्यक्तिगत जीवनका विषयलाई जानाजान मिडियामा तानेर ल्याउने प्रयत्न गर्नु आफैँमा गलत हो । पछिल्लो घटनाक्रम नियाल्दै गर्दा सम्पूर्ण आरोप मिडियामा थोपर्ने प्रवृत्ति बढ्दो छ । पहिले आफुखुसी अन्तर्वार्ता दिने र पछि समय परिस्थिति परिवर्तन भयो भनेर त्यसको सम्पूर्ण आरोप मिडिया माथि थोपर्नु पक्कै मान्य हुन सक्दैन । यसैको परिणाम रिमा र वर्षाको अभिव्यक्ति थियो ।

कलाकार भएको हैसियतले दर्शकले मन पराउछन् । धेरैले चिन्छन् । चिनेपछि राम्रो नरामो लाग्न पाउँछ । अझ ‘रास्ट्रको गहना’ भनिरहँदा वहाँहरु प्रतिको चासो जायज समेत हो । भारतमा केहि समय अघि रजनीकान्त र विजयको फ्यानको झगडाको प्रतिफल एक व्यक्तिले ज्यान नै गुमाउन पर्यो । नकारात्मक प्रतिक्रियालाई पचाउन सक्नु पर्छ पनि । तर यसो भन्दै गर्दा चरित्र हत्या र अश्लिल कमेन्टलाई समेत स्वीकार्ने पर्छ भन्ने हैन । भारतमा कलाकारका फ्यानहरु बीच झगडा हुदै गर्दा नेपालमा भने कलाकार बीच नै विवाद चलिरहेको देखिन्छ । यो त सामान्यनै भयो कि आफ्नो मनपर्ने कलाकार नै अर्को कलाकार विरुद्ध उभिएको छ भने साधारण दर्शकले आफ्नो स्थानबाट विवाद सिर्जना पक्कै गर्छन् । पूजा, शुष्माको कुरा होस्, चाहे धमला पत्नी एलिजाले ऋचा, निशा माथि गरेको सस्तो टिप्पणी । बर्षाले धमला सँगको अन्तर्वार्तामा पत्रकारले कलाकारको झगडा गराएको आरोप लगाएकी छन् । आरोप त लगाइन्, तर प्रमाण ?

पहिले आफैले दिएका अन्तर्वार्ताले समय परिवर्तनसंगै कलाकार आफैँलाई नै असर गर्ने समेत हुन सक्छ । र यसकोलागि भने कलाकार स्वयम् जिम्मेवार हुनुपर्छ । मिडियामा आउदै गर्दा भोली आउने नकारात्मक सम्भाव्यतालाई नियाल्दै प्रस्तुत हुन जरुरी छ । यसको उदाहरणको रुपमा छबी-शिल्पा सम्बन्ध देखि निशा अधिकारीको ‘छोराले के सोच्ला’ अभिव्यक्तिलाई लिन सकिन्छ ।

केहि अघि प्रधानमन्त्री केपी शर्मा ओली ‘सीसीटिभी’ र ‘सीटिइभीटी’ मा झुक्किएर बोलि चिप्लिएपछी यस विषयको चर्चा फरक तरिकाले गरियो ।

निकटताको अर्को परिणाम हो – कार्यक्रममा प्रयोग गरिने सम्मानार्थी शब्द । एकै कार्यक्रममा आएका दुइ पाहुना प्रति कार्यक्रम संचालकको सम्बोधन एकै भएको देखिदैन । एकलाई ‘तपाइँ’ सम्बोधन गर्दै गर्दा अर्कोलाई साथी सोचेरै त होला, ‘तिमी’ बाट कैले ‘तँ’ मा पुगिन्छ पत्तै हुदैन । कार्यक्रम अवधि भर समेत व्यक्तिगत सम्बन्धलाई छुट्याउन सकेको देखिदैन । ‘साथीको हैसियतले यो प्रश्न सोधेको हैन है’ भन्दै गर्दा आफु आमदर्शकको अघि रहेको समेत भुल्ने प्रचलन ‘होस्ट’ मा देखिन्छ । कतिपय व्यवहार त यतिमा कहाँ रोकिन्छन र ! तिघ्रामा हात पुर्याएर मुसारेको, हात चलाएर पिटेको, कार्यक्रमकै बीचमा छिल्लिएको उदाहरण त कति छन् कति । यो सब व्यवहारले पत्रकारिताको महत्व दिन प्रतिदिन घट्दै गएको छ । अझ केहि पत्रकारहरुमा आफै सेलेब्रेटी बन्ने भुत सवार भएको देखिन्छ । दर्शकहरुलाई आफु कलाकारको निकटको मान्छे भएको देखाउन पाउँदा उनीहरु अत्यन्त खुशी हुन्छन् ।

कलाकारिता र फिल्म पत्रकारिता एक अर्काका पुरक हुन् । एउटै क्षेत्रमा काम गर्दै जाँदा बढ्ने निकटतालाई नकार्न सकिन्न । तर कामको लागि काम र व्यक्तिगत सम्बन्धको लागि त्यहि नै बनाउन नसक्दा समस्या सिर्जना भएको देखिन्छ । यसर्थ कलाकारको कलाकारिता र पत्रकारको सहि सुचना तर्फ ध्यान जान जरुरी छ । पृष्ठ भुमिमा सुनिने ‘फलानो कलाकार त फलानो को गोजीको’ र ‘फलानो मिडिया त फलानोको गोजीको’ भन्ने चर्चा अन्त्यका लागि काम प्रतिको इमान्दारिता जरुरी देखिन्छ ।