‘कथा खरर, मन हरर…’ मा बालबालिकाहरुको कथा वाचन

थिएटर मल कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेनले क्वारेन्टाइन अभियान अन्तर्गत बालबालिका केन्द्रित कार्यक्रम ‘कथा खरर, मन हरर…’ शुरु गरेको छ । ‘बालबालिकाहरु पनि देख्न, सुन्न, महसुस गर्न र कल्पना गर्न सक्छन्’ भन्ने भावका साथ उनीहरुले सुनाएका कथाहरुको कार्यक्रम शुरु गरिएको हो ।

कार्यक्रम ‘बालकोसेली’ नामको युट्युव च्यानलमा वैशाख २२, सोमबार बिहान शुरु गरिएको हो । सोमबारको पहिलो भागमा आभा प्रधानको उद्घोषण रहेको छ भने सहर्षा क्षेत्रीले ‘जादुई घन्टी’ र प्रतिक तिमिल्सिनाले ‘चलाख बटुवा’ कथा सुनाएका छन् ।

थिएटर मलका केदार श्रेष्ठ भन्छन् – ‘‘कथा सुन्ने र सुनाउने हाम्रो प्राचीन संस्कृति हो । हजुरबा–हजुरआमाबाट कथा सुन्ने परम्परा संयुक्त परिवारको संरचना खुकुलो भएपछि छुट्दै गयो, त्यसैले हामी अभिभावकलाई आफ्ना छोराछोरी र कथाको सम्बन्ध बलियो बनाउन अनुरोध गर्छौ ।’’

बालबालिकाले कथा सुनाएको भिडियो [email protected] मा पठाउन सकिनेछ । अहिलेको लागि प्रि प्राइमरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले कथा सुनाउन सक्नेछन् । साथै कार्यक्रमको उदघोषण गर्न चाहने बालबालिकाले पनि सम्पर्क गर्न सक्ने कार्यक्रमका सह निर्माता प्रशुन सिन्धुलियाले बताएका छन् ।