घरेलु हिंसा विरुद्ध केकी अधिकारीको भावना ‘उनी रोईन्’

‘मैले जे भोगेकी छु । जे सहेकी छु । मलाई मात्र थाहा छ ।‘ यति भन्दै उनी रोईन् । उनी किन रोईन्?

उनी रोईन्, किनकी वहाँलाई उनीले अरुसँग बोलेकै मनपर्दैन रे । उनी रोईन् किनकी आज एकैछिन् अरुसँग बोलेको वहाँले देखि त हाल्नुभो । उनी रोईन्, किनकी वहाँ साथ दिने साथी होईन, कमजोरी केलाउने काजी होइबक्सदोरहेछ, दण्ड दिने हुकुम होइबक्सदोरहेछ । उनी रोईन्, किनकी बिदेशी विश्वविद्यालयमा पढेर आएका वहाँका साथीहरु बीच उनको बौध्दिक स्तर नपुग्दो रहेछ । उनको नपुगेको बौध्दिक स्तर माथि वहाँले बारम्बार व्यंग्य गर्नुहुँदो रहेछ । उनी रोईन् किनकी उनी मोफसलमा जन्मिएकी हुन् । शहरको ढंग उनले जानिन छिन् । समयमै सिक्न सकिनछिन् । सिक्दा सिक्दै त्रुटिहरु गरिछिन् । उनी रोईन्, किनकी तरकारीमा आज नून कम भएछ । उनी रोईन् किनकी उनीसँग भान्सा कोठा छ । मुख धुन पानी छ । आँसु पुछ्न टालो छ ।उनी रोईन् किनकी आफ्नो देवर, आफ्नो नन्द, आफ्नो आमाजुहरुसँग उनको बोली गुलियो भएन छ । सासुससुरालाई ढोग्न बिर्सिएछिन् । उनी रोईन् किनकी उनी दाईजो कम ल्याउने बुहारी परिछिन् । उनी रोईन् किनकी उनी असल आमा हुन सकिनछिन्  । उनी रोईन् किनकी उनी असल ठूली आमा हुन् । सानीमा हुन् । आमा होईनन् । बाँझी हुन् । उनी रोईन् किनकी अलग्गै भविष्य उनको पनि हुनसक्थ्यो । उनी रोईन् किनकी उनीसँग पनि शैक्षिक योग्यताका प्रमाणपत्रहरु छन् । गाउन सक्ने गला छ। नाच्न सक्ने कम्मर छ । उनी रोईन् किनकी पलंगमा एउटा छेउ छ । सुँक्क आवाजलाई दबाउन सक्ने सिरानी छ । आफ्नै श्रीमानबाट बलात्कृत भएको अनुभव छ ।

उनी रोईन् आफ्नो प्रेमलाई सम्झिए र। उनी जस्तै कसैको सौभाग्य सम्झिएर । आफ्नो दूर्भाग्य सम्झिएर । गरिब आमाबुवाको सामाजिक प्रतिष्ठा सम्झिएर । उनी रोईन् किनकी आज उनको नानीलाई सानो चोट लाग्यो । त्यहि चोटको बहानामा उनलाई ठूलो चोट लाग्यो । उनी रोईन् किनकी उनलाई थप्पड थाहा छ । लात थाहा छ । मुक्का थाहा छ । काट्दा नदुख्ने, लुछ्दा दुख्ने कपाल थाहा छ । उनी रोईन् किनकी उनी भीडमा पनि एक्लै छिन् । उनी रोईन् किनकी उनीसँग सडकमा मागेर खानुपर्ने दिन आउला भन्ने धम्कीले जरा गाडेको मन पनि त छ । उनी रोईन् किनकी सहनशिलताको बाँध भत्किएको छैन । आँसु अझै बाँकी छ ।

उनी रोईन् किनकी उनले आज न्याय माग्ने हिम्मत गरिन् । उनी रोईन् किनकी न्याय माग्दा, व्यथा बुझ्ने न्यायमूर्ति पाईनन् । उनी रोईन् किनकि थप्पड हान्नु नै अपराध हो तिमीले न्याय पाँउछौ भनेको सुनिनन् । ऊनी रोईन् किनकी उनलाई उल्टै सोधियो के त्यो थप्पडले कानको जाली फुटेकै हो त ?

उनी रोईन् किनकी उनीले जे भोगेकि छिन् । जे सहेकी छिन् । उनीलाई मात्र थाहा छ ।
(तपाँई हामी बीच भएका सबै ‘उनी’ हरुलाई घरेलू हिंसा बिरुध्द बोल्ने साहस मिलोस् । साहसी सबैलाई न्याय मिलोस् ।)
केकी अधिकारीको फेसबुकबाट साभार