केशव भट्टराई नयाँ बोर्ड अध्यक्ष

३ महिनादेखि रिक्त रहेको चलचित्र विकास बोर्डमा निर्माता केशव भट्टराई नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले उनलाई दुई बर्षे कार्यकालका लागि नियुक्त गरेको हो । कांग्रेसको कार्यकालमा नियुक्त भएकी निकिता पौडेलले माघ २२ मा राजीनामा दिएपछि विकास बोर्ड अध्यक्ष विहिन थियो । निकिता पौडेलले प्रगति विवरण बुझाउन नसकेपछि सञ्चारमन्त्रालयले निकितालाई स्पष्टिकरण सोधेको थियो । जवाफमा निकिताले राजीनामा बुझाएकी थिइन् ।

अध्यक्ष भइसकेपछि मेरो फिल्मसँग संक्षिप्त प्रतिक्रिया दिँदै नयनियुक्त अध्यक्ष भट्टराईले विस्तृत कार्ययोजना औपचारिक रुपमा पदभार ग्रहण गरेसँगै सार्वजनिक गर्ने जनाएका छन् । ‘ कार्यकालको रोडम्याप केही दिनमा सार्वजनिक गर्छु । अहिलेलाई भने यत्ति भन्छु कि म मेरो ३० बर्षे फिल्मी अनुभवलाई दुई बर्षे अवधिमा खर्च गर्छु । फिल्म क्षेत्र लथालिंग छ । गर्नुपर्ने धेरै काम छन्,’ उनले भने । सञ्चार मन्त्रालयले गतबर्षदेखि प्रक्रियागत रुपमा अध्यक्ष नियुक्ति थालेको हो ।

यसमा अध्यक्ष बन्न चाहानेले लिखित कार्ययोजना पेश गर्नुका साथै सञ्चारमन्त्रालयले निर्माण गरेको अन्तर्वार्ता समिति समक्ष आफ्नो कार्ययोजनाको प्रस्तुति दिनुपर्दछ । तर, प्रक्रिया जे भए पनि भट्टराई एमालेको कोटामा अध्यक्ष भएका हुन् । भट्टराई एमाले निकट चलचित्रकर्मी संघको अध्यक्ष हुन् । तर, अक्ष्यक्षमा कांग्रेस निकट उम्मेदवारको पनि दाबेदारी थियो । अध्यक्षका लागि निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठले पनि निवेदन दिएकी थिइन् । त्यसैगरि, अध्यक्ष बन्नलाई योगेश घिमिरे, देशभक्त खनाल आदिको पनि निवेदन थियो । अध्यक्ष भट्टराई उद्योगमा मध्यमार्गीका रुपमा चिनिन्छन् । मिलाएर जाने धेरै फिल्मकर्मी झैं उनको पनि बानी रहेको छ ।

थोरै महत्वकांक्षी उनले पदकै लागि मरिहत्ते भने गर्ने नगरेको उनको इतिहासले बताउँछ । उनले निर्माता संघमा लामो समय राजकुमार राईलाई सघाएर बसे जबकि राईभन्दा भट्टराई सिनियर थिए । यो पटक पनि निर्माता संघमा भट्टराई अध्यक्षका दाबेदार थिए । तर, आकाश अधिकारीले उनलाई उछिने । अधिकारीले उनलाई अर्को कार्यकाल अध्यक्ष बनाउने सर्तमा बरिष्ठ उपाध्यक्षमा टिममा सामेल गराउन सफल भएको चर्चा उसबेला व्याप्त थियो । भट्टराईले अखिल नेपाल चलचित्रकर्मी संघको भने लामो समयदेखि नेतृत्व गर्दै आएका छन् ।

यो पटक झन   ठूलो जिम्मेवारी लिएर भट्टराई बोर्डको नेतृत्व सम्हाल्दैछन् तर उनका लागि एक होइन अनेक चुनौती छन् जसलाई चिरेर कार्यकाल सफल बनाउन भट्टराईलाई फलामको च्यूरा चपाउनु सरह हुनेछ । भट्टराईको सबैभन्दा पहिलो चुनौती बक्स अफिसको पूर्ण कार्यान्वयन नै हो । बक्स अफिस उपत्यकामा त सञ्चालनमा छ तर निर्माताले अझै पनि फिल्मको सम्पूर्ण तथ्यांक पाउन सकेका छैनन् । माघ देखि लाग्ने भनेको उपत्यका बाहिरको बक्स अफिस लगाउन पनि भट्टराईलाई सजिलो छैन । किनकि अझै पनि केही हलवाला खुल्लम खुल्ला बक्स अफिसको बिरोधमा फेसबुकमा स्ट्याटस लेख्दै आएका छन् ।

केही समययता नेपाली फिल्मको बजार ‘डेड’ छ । नेपाली फिल्मले दर्शक पाइरहेका छैनन् । हल नेपाली फिल्मप्रति उदासिन छन् । जबकि बलिउड तथा हलिउड फिल्मलाई हलले अनावश्यक फेभर गरिरहेका छन् । यसले नेपाली फिल्मकर्मीलाई फिल्म बनाउन हतोत्साहित गरिरहेको छ । भट्टराईलाई यी हलवालासँग जोरी खोजेर नेपाली फिल्मका लागि वातावरण बनाउनु अर्को ठूलो चुनौती हो । किनकि नेपाली निर्माता निर्देशकमा अझ पनि विकास बोर्डप्रतिको भरोसा मरिसकेको छैन । फिल्म नीतिको सक्रिय कार्यान्वयन नेपाली फिल्मको उन्नतिका लागि रामवाण मानिँदै आएको छ ।

पूर्व अध्यक्षले नीति लागू भइसकेको दाबी गरेका पनि थिए । तर, त्यसको पूर्ण अनुभूति फिल्मकर्मीले गर्न पाएका छैनन् । यो लागू गराएमा मात्र पनि उनको कार्यकाल सफल मानिनेछ । यी बाहेक बोर्ड भित्रकै कर्मचारीको राजनीति व्यवस्थापन र फिल्म क्षेत्रकै गुट उपगुटको व्यवस्थापन पनि उनको कार्यकालका चुनौती रहनेछन् ।