Joy Ads

क्लेशा : कुण्ठा र स्वतन्त्रताको कथा

- दिक्षा कट्टेल
प्रतिक्षा कट्टेलले लेखेको ‘क्लेशा’ बिजया कार्कीले निर्देशन गरेकी हुन् । मण्डला नाटकघर अनामनगरमा जेष्ठ १७बाट प्रदर्शन भैरहेको नाटक असार ८ सम्म चल्ने छ । यहि नाटक मार्फत सुरक्षा पन्तले रंगमन्च डेब्यु गरेकी हुन् ।

नाटक ‘कान्छी’ पात्रलाई केन्द्रमा राखेर सुरु भए पनि कथा भुमिको वरिपरी घुम्छ । पन्च परिवारका कान्छा छोरा ‘अनुज’ को प्रेममा परेकी ‘कान्छी’ गर्भवती हुन्छे । अनुजले स्वीकार्न नमानेको मात्रै नभएर गर्भपतन नै गराएर छोड्छ । सोही पिडाका कारण कान्छीको बिच्छिप्तताले मानसिक रोगको रुप लिन्छ । गाउँमा बस्ने स्थिति नभए पछि परिवार र नजिकका छिमेकी समेत लिएर कान्छीका दाजु रुद्र तराई झर्छन् । बहिनीको त्यो अवस्था बनाउने प्रतिको रिस र आवेग शान्त भएकै हुदैन । फल स्वरूप ‘भुमि’ देवदत्तकी पत्नीलाइ अपहरण गरि पहाडबाट तराई सम्म लिएर आउछ । सो कामको आफ्नै भाई कान्छाले भने समर्थन गर्दैन । तर कान्छा बाहेक शान्ति काकी, दुर्गा, जितेदाई लगायत सम्पूर्णको साथ पाउछ रुद्रले । उनीहरुको एउटा मात्र विश्वास छ ‘रुद्रले गलत गर्दैन’ । पत्नी वियोगमा भाव विव्हल देव भुमिलाई फर्काउन के गर्न सकिन्छ भनेर उपायको खोजीमा लाग्छ । अन्तत बलरामलाई समाचार बाहकको रुपमा भुमि बसेको ठाउँको बारे बुझ्न पठाउछ । सोही क्रममा भुमि समेतको सल्लाहमा कान्छीलाई उपचारका लागि राँची पठाइन्छ कान्छा र शान्ति काकीको साथ । सल्लाह गर्ने र निर्णय निकाल्ने भन्दै रुद्र र देवले वार्ताका लागि निशस्त्र भेट्ने योजना बनाउछन् । सोहि अनुरुप भेटेर सल्लाह गर्ने क्रममा ‘अनुज’ ले बेइमानी गरी रुद्रले तराइमा बसाएको गाउँमा आगो लगाइदिन्छ । अवस्था अशान्त बन्छ । अनुजले चलाएको गोली लागि देवदत्तको मृत्यु हुन्छ र नाटक सकिन्छ समग्रमा नाटकको कथा यहि नै हो ।

अब कुरा गरौ लवाइखवाई र रहनसहनको : महिलाहरुले चौबन्दी चोलो र फरिया बेरेर लगाएका छन् विवाहित नारीको शरीरमा पोते चुरा गहना लगायत शृंगारको सामाग्री रहेको छ भने अविवाहितको कपडा समेत चौबन्दी चोली र बेरेको फरिया नै रहेको छ । पुरुषलाई नियाल्दा दौरा सुरुवाल पटुकी र पटुकीमा खुकुरी रहेको छ भने अस्कोट समेत लगाएका छन् । काम गरेर थाकेर आउदा दौराको माथिल्लो तुना खोलेर हम्किनुले अझ बढी नेचुरल देखिएको छ । त्यस्तै बेलकुमारीका पति जसले फलामको सामान बनाउने गर्छन्, को कपडा केहि फरक छ । उनले दौरा बिना नै अस्कोट लगाएका छन् भने सुरुवालको ठाउमा च्यातिएको हाफप्यान्ट लगाएका छन् । पोटुकी भने लगाएका उनले कम्मरमा २ ३ वटा हसिया, खुर्पा अड्याएका छन् । यसले तत्कालिन समयको दलित पात्रको प्रतिनिधित्व गर्छ । बिहानै मादक पदार्थ खाएर टिल्ल भएका जितेदाइको लवज बोलीले मंगोलियन समुदायलाई देखाएको छ । छेउमा राखिएको मुख नभएको गाग्री, गाग्री माथिको अम्खोरा, जातो, डालो भरि मकै, नाग्लो आदिले उक्त समयका सामग्रीको पहिचान दिन्छ । नाटकको १ घण्टा ३५ मिनेटको समयमा एक मिनेट पनि बनावटी अनुभव हुदैन, घटनाले बाधेर राख्छ ।

अब चर्चा गरौ सुरक्षा पन्तले निभाएको भुमि पात्रको । बनारस पढ्न गएका देवदत्तको प्रेम भुमिसंग बस्छ र उनले बिवाह गरि भुमिलाइ पूर्वी नेपाल ल्याउछन् । जहाँ उनलाई एडजस्ट हुन एकदम असहज भएको छ । देव नै भनेर त्यति टाढा आएकी भूमिका लागि भनेर देवसंग समय छैन । दिनभरी छलफल, कचहरी र राजनैतिक काममा उनी ब्यस्त छन् । समय समयमा उनी बिरक्तिन्छिन् पनि । बनारस नभए काठमाण्डौसम्म भए पनि गएर सेटल हुन पर्छ भनेर झक्झक्याउछिन् उनी देवलाई । तर बाबुआमाको जेठो छोरा प्रधानपन्च, उनी आफ्नो कर्तब्य चटक्कै छोडेर जान चाहदैनन् । आज भन्दा ४० बर्ष अगाडीको समाजमा पतिलाई ‘तिमी’ र नामले सम्बोधन गर्नु पाच्य थिएन तर भुमि भन्थिन् । चिया सम्म बनाउन नजान्ने उनीबाट देवले भने खासै धेरै अपेक्षा गरेका छैनन् माया बाहेक । न त उनको नगएको बचपनका बारेमा गुनासो नै छ । पत्नीलाई धेरै माया गर्छन् देव । अपहरित भएर तराई आएपछि एक दुई पटक भाग्न समेत खोजिन उनी । र बिस्तारै तराईकै वातावरणमा सहज बन्न थालिन् । उनलाई कान्छी, शान्ति काकी र दुर्गानै आफ्ना लाग्न थाले । अझ रुद्रमा त उनले देवको रुप पो देख्न थालिन् ।

देवदत्त र रुद्र दुवै सफा मन भएका न्यायप्रेमी पात्र हुन् । तर जव बिषय परिवारको आयो दुवै हिंस्रक बने । समय अन्तरालमा समस्या समाधानका लागि दुवैले पहल गरेका छन् । भूमिको नजरमा मात्र नभएर आम दर्शकको माझमा समेत रुद्र र देवदत्त उस्तै नै छन् ।

शक्तिको आडमा ताण्डव मच्चाउदै हिड्ने ‘अनुज’ गनिएको परिवारको मातिएका छोराको प्रतिनिधि पात्र हुन् । जसले मायाको आडमा शरीरसंग खेल्छ र उखु चपाएर थुके झैँ थुक्छ कान्छीलाई ।कान्छी मायामा छे उक्लिदो उमेर र उर्लिदो बैशको फल स्वरूप गर्भवती हुन्छे उ र समस्यामा पर्छे । तत्कालिन समयमा बिहे अगावै शरीर सुम्पिनुलाइ समाजले सहज रुपमा लिन सक्दैन थियो । दुर्गा र अर्का एक पात्रको प्रेम चाखलाग्दो छ । शान्ति काकीको भूमिका सर्हानिय छ, उनले परिवारको मुली भएर निभाएको व्यवहारिकता प्रसंसा गर्न योग्य छ ।
 
नाटकका क्रममा प्रयोग भएका सम्बाद अलिकति पनि नाटकीय लाग्दैनन् । देवले ‘बेसरम भा’ले’ भन्दा भुमिले फर्काएको ‘सर्मिला पोथी’ ले उनी आफु बसिरहेको समाजको बारेमा पूर्ण जानकार नरहेको देखाउछ । बेलकुमारीको पेट, नाथे रुद्रेले त कुटीहाल्दैन नि?, काकाले ओछ्यान मुते, पाइस् तँ मटयांग्रेले घोर्ले छोरो लगायतका सम्बादले दर्शक माझ हासोको फोहरा फुटाउने गर्छ । भूमिको ‘रित्तो होइन खालि महसुस भएको छ’ ‘तिमि र देव उस्तैलाग्छ, माया उस्तै हो फरक त केवल शरीर हुन्छ, तिम्रो सत्रु मेरो सत्रु किन हुन पर्यो र देव ? जस्ता स्वतन्त्रता खोजिएका सम्बाद, रुद्रसंगको निकटता तथा गहना खोलेर राख्नुले उनको बदलिदो मानसिकता इंगित गर्छ ।

शान्ति काकीले भूमिलाई दिएको बर्को, भूमिले नजानिँदो पाराले कान्छी प्रति दर्साएको माया, घरको काममा देखाएको रुची, रुद्रले भुमिलाइ ज्वरो आउदा गरेको उपचार र हेरचाहले मानिसमा रहेको मानवता देखाउछ । घर बनेपछि नाच्दै गाउदै ब्यक्त गरेको खुसिले तत्कालिन समयको मनोरन्जनको तरिकाले खुसि साट्ने बाहना दर्शाउछ, भने जातीय विभेद देखाउने घरप्रवेस पछिको पन्चामृत ग्रहण गर्दा बेलकुमारीको पतिलाई अलग्गै दिएको र पानी माग्दा समेत अलग्गै माथिबाट खन्याइ दिनुले दर्शाउछ । साथै सबै जना घर भित्र बस्दा बाहिर छुट्टै टुसुक्क बस्छन्, उनी । नाटक भनिसके पछि लाइट, म्युजिक र सराउन्डीङमा पूर्णता थियो भनिरहन नपर्ला । नेपथ्यमा प्रयोग भएको बाजागाजा र गीतले नाटकलाई अझ जीवन्त बनाएको छ ।

तर केही बिषयमा भने स्पष्टता देख्न सकिन्न । गाउँमा बस्ने एउटी छोरी जो मायामा परेर गर्भवती सम्म हुन्छे, उसलाई परिवार र समाजले गर्ने व्यवहार त्यति सहज हुन्न जति नाटकमा देखाईएको छ । त्यो पनि आज भन्दा ४० बर्ष अगाडी । फेरि अर्को कुरा तत्कालिन समयमा जहाबाट बिवाह गरेर आएको भए पनि जति स्वतन्त्रता भुमिले पाएकी छन्, त्यति कसैले पनि पाउदैन । पतिको नाम सम्म उच्चारण गर्न नहुने समाजमा उनी देवलाई नामले मात्र बोलाउदिनन् समय पाउनासाथ रोमान्सका लागि तयार हुन्छिन् । माया त छ यी दुइ बीच, तर उक्त समय त्यस किसिमको रोमान्सलाइ समाज त के देव स्वयम्ले समेत स्वीकार्ने अवस्था रहदैन थियो ।

समग्रमा कथा अपुरो लागे पनि प्रस्तुतिमा औला उठाउने ठाउँ छैन । एक घण्टा ३५ मिनेटको नाटकले कम्तिमा पनि ३, ४दिन सम्म दिमागमा कब्जा जमाउने पक्का छ ।
तस्विर : विजय ताम्राकार

२०७६ जेठ २८ गते १४:०३ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sunkeshari Satrugate