दुई वर्ष अघिनै भएको थियो कोरोना महामारीको भबिष्यवाणी !

यतिबेला नोवल कोरोना भाइरस (कोभिड १९) को महामारीले पुरा विश्व आक्रान्त छ । विश्वका १९९ देश र अन्तरराष्ट्रिय सिमामा रहेका दुइ पानिजहाज मा फैलिसकेको यो भाइरसको कारण करिब ३३ हजार मानिसहरुले ज्यान गुमाइसकेका छन् भने प्रत्येक दिन ज्यान गुमाउनेहरुको संख्या बढ्दो क्रममा छन् । चिनबाट शुरु भएको यो रोगबाट इटाली, स्पेन, अमेरिका जस्ता देश सबैभन्दा प्रभावित छन् । विश्वका अधिकांश भूभागमा अहिले लकडाउन छ र यतिबेलै चर्चित स्ट्रिमिंग प्लेटफर्म नेटफ्लिक्समा उपलब्ध रहेको सन् २०१८ को एक दक्षिण कोरियाली सिरिज केहि दिन देखि चर्चामा आएको छ । सामाजिक संजालमा मानिसहरु यस सिरिजले दुई वर्ष अगाडीनै नोवल कोरोना भाइरस (कोभिड १९) महामारीको पूर्वानुमान गरेको मानिरहेका छन्, उक्त सिरिजको भिडियो क्लिप पनि भाइरल भैरहेको छ । उक्त सिरिज हो – ‘माइ सिक्रेट टेरीयस’ ।

‘माइ सिक्रेट टेरीयस’ को बारे –

‘माइ सिक्रेट टेरीयस’ सन् २०१८ को दक्षिण कोरियाली टेलीभिजन सिरिज हो । यसको प्रशारण सेप्टेम्बर देखि नोभेम्बर सम्म एमबिसी च्यानलबाट भएको थियो र पछि नेटफ्लिक्समा हालिएको थियो । दक्षिण कोरिया र पोल्याण्डमा छायांकन गरिएको यस सिरिजमा एक महिला, गो ए-रिन को कथा रहेको छ, जसले आफ्नो श्रीमान गुमाउछिन् र पछि त्यो एक षडयन्त्र भएको थाहा पाउछिन् । यस सिरिजमा कुल ३२ एपिसोड छ । सिरिजमा सो जी-सब, जंग इन-सन, सन हो-जुन, ईम से-मि लगायतको अभिनय रहेको छ ।

किन जोडीदैछ अहिलेको महामारी सँग –

उक्त सिरीजको दशौ एपिसोडको कारण यसलाई कोरोना भाइरस संग जोडेर हेरिएको छ । उक्त एपिसोडको एक दृश्यमा कसरि कोरोना भाइरसलाई आतंकवादीहरुले हतियारको रुपमा प्रयोग गरिरहका छन् भन्ने बारे कुराकानी गरिएको छ । उक्त दृश्यमा मृत्युदर ९० प्रतिशत हुने गरि बनाइएको मर्स (मिडल इस्ट रेस्पीरेटरी सिन्ड्रोम) को उत्परिवर्तित रुप कोरोना भाइरस हो भनिएको छ । साथै उक्त भाइरसले संक्रमणको पांच मिनेटमै प्रत्यक्ष फोक्सोमा आक्रमण गर्ने र यसको कुनै उपचार नभएको भनिएको छ । केहि पछि उक्त एपिसोडमा भाइरसबाट बच्नको लागि बालबालिकाहरुलाई सहि तरिकाले हात धुन पनि सिकाइन्छ ।

कति सत्य ? कति भ्रम ?

‘माइ सिक्रेट टेरीयस’ एक साइन्स फिक्सन सिरिज हो । यसमा उक्त भाइरस मानब सिर्जित भनिएको छ तर विभिन्न देशका बैज्ञानिकहरुले गरेको अनुसन्धानले नोवल कोरोना भाइरस जनावरबाट आएको संकेत गरेको छ ।

डब्लुएचओ का अनुसार कोरोना भाइरस अन्तर्गत मर्स, सार्स का कारक भाइरसहरु जस्तै धेरै भाइरसहरु पर्दछन्, तिनको संक्रमण पछी सामान्य रुघा खोकी देखि जटिल समस्याहरु हुन सक्छन् । कोरोना भाइरसको पहिचान सन् १९६० को दशकमै भैसकेको थियो यस बीच धेरै कोरोना भाइरसले विभिन्न जनावरहरुलाई संक्रमित गरिसकेको छ । सार्स सन् २००२/२००३ मा र मर्स सन् २०१२ मा मानिसहरुमा महामारी बनेर देखियो, र अहिले महामारी बनेको कोरोना भाइरस भने नोवल कोरोना भाइरस (कोभिड १९) हो । तर हामी अक्सर कोरोना भन्नासाथ अहिले महामारीको रुप लिएको रोग लाई मात्र बुझ्ने गर्छौ जुन गलत हो ।

अहिले सम्मको आँकडा हेर्दा कोभिड १९ को मृत्युदर ३-४ प्रतिशत मात्र रहेको छ, सिरिजमा भने मर्स (मिडल इस्ट रेस्पीरेटरी सिन्ड्रोम) को उत्परिवर्तित रुप हो भन्दै मृत्युदर ९० प्रतिशत भनिएको छ, जुन अतिनै काल्पनिक लाग्छ ।

सिरिजमा उक्त मानब निर्मित भाइरसको इन्क्युवेसन पिरियड (भाइरसको सम्पर्कमा आउने र लक्षण देखिन शुरुहुने बीचको समय) ५ मिनेट मात्र छ तर नोवल कोरोना भाइरसको बारे पुरा तथ्य अहिले नै यकिन भन्न नसकिए पनि इन्क्युवेसन पिरियड १ देखि १४ दिन देखिएको छ ।

यी तथ्यहरुलाई हेर्दा कोरोना भाइरस भनेर नाम प्रयोग गरीएपनि एक काल्पनिक कथानक भएको सिरिजकै आधारमा नोवल कोरोना भाइरस मानब सिर्जित भाइरस हो भन्ने पर्याप्त आधारहरु भने भेटिदैन ।