“म नारायण गोपाल हुन सक्दिनथें” – भुवन के. सी

सायद थोरैलाई मात्र थाहा होला अभिनयबाट आफ्नो पहिचान बनाउनु भन्दा अगाडीनै भुवन के. सी. गायनमा सक्रिय रहेका थिए । उनले बि. सं. २०३१ मा शम्भुजित बास्कोटाको शब्द तथा संगीतमा पहिलो पटक गीत रेकर्ड गरेका थिए । रेडियो नेपालबाट स्वर परिक्षा पनि उत्तीर्ण गरेका  २०-२५ वटा गीतहरु रेकर्ड भएका छन् । उनका ‘जागें, जागें सारा रात’, ‘मायालु तिमि टाढा भईदिनाले’, ‘मादल बज्यो घिन घिन तांग तालैमा’ लगायतका गीतहरु चर्चित रहेका छन् । उनको सांगीतिक यात्राबारे मेरोफिल्म  का श्रीधर पौडेलले गरेको कुराकानी :

पहिलो पटक रेकर्ड गर्नुभएको गीत कुन हो ?
मैले रेकर्ड गरेको पहिलो गीत ‘मादल बज्यो घिन घिन तांग तालैमा’ हो । बि. सं. २०३१ मा रेकर्ड भएको यो गीतमा शम्भुजित बास्कोटाको रचना तथा संगीत रहेको थियो । यो गीत शम्भुजितको पनि पहिलो गीत थियो ।

तपाईका कति गीतहरु रेकर्डेड छन् ?
२०-२५ वटा जति गरेको छु ।

आजकल पनि कहिले काहीं गुनगुनाउनु हुन्छ ?
‘मादल बज्यो घिन घिन तांग तालैमा’ कहिले काहीं गुनगुनाउछु । पहिले म राम्रै गीत गाउँथें तर ‘नेपाली बाबु’ को डबिंग पछि मेरो स्वर बिग्रियो । निर्देशक उगेन छोपेलजी यहाँ हुनुहुन्थेन, सबै कलाकारहरुको डबिंग म आफैले गराएँ । सबैलाई सिकाई सिकाई डबिंग गराएँ, एउटा सिनमा चिच्याएर बोल्नु पर्ने थियो त्यतिबेला चिच्याउँदा मेरो भोइस क्रयाक भयो । त्यसपछि मेरो स्वर पिचमा जाँदैन । त्यसपछि मैले गीत गाउन कम गरें ।

कसैले पुराना गीतहरु खोजेर एकल साँझ गरौ भन्ने प्रस्ताव गर्यो भने के होला ?
म त एकदम तयार छु ।

आफुले गएका मध्ये मनमा बसेको गीत कुन हो ?
मेरो सुपरहिट गीत ‘जागें, जागें सारा रात’ नै हो । दीप श्रेष्ठको ‘बितेका कुरा’ पनि त्यहि वर्ष आएको थियो र यी दुवै गीत सुपरहिट भएका थिए । दीप दाई हामी भन्दा निकै अग्रज नै हुनुहुन्थ्यो हामी चाहिं त्यतिबेला भर्खर भर्खर शुरु गरिरहेका थियौ ।

गीत गाउने बेलाको रमाइला किस्साहरु केहि छन् ?
त्यतिबेला मनोरंजनको साधन भनेको रेडियो नेपाल मात्र थियो । गीत हिट भएपछि रेडियोमा दिनमै ३-४ पटक बज्थ्यो । साथि भाइहरुलाई पनि ‘ल मेरो गीत आउदैछ सुन है’ भनिन्थ्यो । त्यतिबेला लाइभ रेकर्डिंग गरिन्थ्यो जुन एकदमै रोचक थियो । वाद्य वादन टोलि र स्वर दिनेले एकै पटकमा पुरा गीत गल्ति नगरी पुरा गर्नुपर्थ्यो । कसैले सानो गल्ति गर्ना साथ फेरी पुरा गीतनै दोहोर्याउनु पर्थ्यो । त्यतिबेला रेडियो नेपालमा गीत रेकर्ड गर्नु चुनौतीपूर्ण नै थियो । स्वर परिक्षा पास गरेर गीत गाउनको लागि समय लिन पनि गार्हो थियो । कहिले कहीं स्टुडियोमा समय लिए पनि भनेको समयमा बाजा बजाउनेहरु सबैजना भेला नै हुदैनथ्यो । त्यतिबेला रेडियो नेपालले ‘क’ श्रेणीको गायकहरुलाई ४० रुपियाँ दिन्थ्यो, हामि नयाँहरुले २० रुपियाँ पाउथ्यौ । मैले चाहिँ आफ्नो गीत रेकर्डिंगमा उत्कृष्ट वाद्य वादन टोलि राख्नको लागि आफैले डेढ सय रुपियाँ सम्म खर्च गर्थें । रेकर्डिंग सकिए पछि पनि सबैको लागि पुतलीसडकमा खाजा नास्ताको व्यवस्था गर्ने गर्थें ।

स्वर परिक्षा पास गर्दाको केहि अनुभबहरु याद छ ?
रेडियो नेपालको बाल कार्यक्रममा गइराख्ने हुनाले अग्रजहरु सिके रसाइली, नातिकाजी, शिवशंकर, बच्चु कैलाश, नारायण गोपाल दाईहरु लाई चिनेकै थिएँ । नारायण गोपाल दाईले मलाई बच्चै देखि सार्है माया गर्नुहुन्थ्यो । म बच्चै उमेरमा नै क्युट खालको थिएँ । तारा देवी, मिरा राणा, कोइलि देवी, ज्ञानेन्द्र राणा, अरुणा लामा सबैले माया गर्नुहुन्थ्यो । एसएलसी दिने ताका तिर एक दिन त्यसै घुम्न गएको बेला स्वर परिक्षाको दिन परेको रहेछ । सिके रसाइली दाईले ‘ए भुवन, आज भोइस टेस्ट छ, तैले पनि दे’ भन्नुभयो । त्यतिबेला म फुच्चे फुच्चे नै थिएँ । मैले ‘कुन गीत गाउने, म तयारनै छैन’ भनें । उहाँले ‘तेरो काकाको गीत आउदैन तलाई ?’ भन्नुभयो । मैले ‘मायालु हजार हुन्छन् तर माया एउटै हुन्छ’ भन्ने एक लाइन मात्र आउँछ भने, उहाँले त्यहि गाउन भन्नु भयो । मैले गाएँ, सिके रसाइली दाइले हार्मोनियम बजाउनु भयो । एक हप्ता पछि रिजल्ट आउँदा त मेरो नाम एक नम्बरमा नाम निस्कियो ।

पछि कलेज गएपछि त म टप गायक नै भएको थिएँ । कलेजमा गितार लिएर बसे पछि शिक्षक, प्रिन्सिपल, साथिहरु सबै मेरो दिवाना हुन्थे ।

प्रसंशकहरुले चिठ्ठी कत्तिको पठाउथे ?
ए, कति हो कति ।

जवाफ पनि फर्काउनुहुन्थ्यो ?
कतिको दिन्थें, कतिको दिदैनथें ।

तपाई आफै खेल्नु भएको फिल्ममा कसैले गीत गाउन अफर गरेनन् ?
नारायण पुरी, शैलेश आचार्य लगायतका साथिहरुले भनिरहनुहुन्थ्यो तर मलाई चाहिं फिल्ममा गाउन त्यति रहर लागेन । म आफुले आफुलाई मुल्यांकन गर्दा मेरो स्वर फिल्ममा गाउने स्तरमा पुगेको छैन भन्ने ठान्थें । त्यतिबेला नारायण गोपाल दाई स्वर सम्राट भनिए पनि हिरोइक भोइस  छैन भनेर उहाँलाई फिल्ममा खासै लिईदैनथ्यो । बरु प्रेमध्वज दाईको स्वरलाई हिरोइक मानिन्थ्यो र उहाँलाई लिईन्थ्यो ।

तपाईले संगीतलाई नै अगाडी बढाएको भए चाहिँ ?
म औसत गायक मात्र हुन्थेँ । तर हिट चाहिँ हुन्थेँ । अत्यन्त चर्चित भएका ‘घाँस काट्ने खुर्केर’, ‘देउराली उकाली चढेर’ जस्ता क्याची गीतहरु गएर म हिट हुन सक्थें तर नारायण गोपाल जस्तो कालजयी हुन म सक्दिनथें । त्यो कुरा मलाई थाहा थियो त्यसैले मैले गायनलाई दोस्रो प्राथमिकतामा राखेको थिएँ ।

अहिले पार्श्व गायनमा चलेका गायकहरुबारे के भन्नुहुन्छ ?
अहिले राम्रा गायकहरु पनि छन् तर म त्यतिबेलाका गायकहरुको तुलना अहिलेका संग गर्दिन, किनभने त्यतिबेला एक टेकमै ओके गर्नुपर्थ्यो । अहिले त टुक्रा टुक्रा, लाइन लाइन जोडेर पनि गीत गाउन सकिन्छ । अहिले अलिक स्वर मिठो भने हुनुपर्छ । तर त्यतिबेला संगीत बुझेको मान्छे नै प्राथमिकतामा पर्थे तर त्यो प्राथमिकतामा म उत्कृष्ट १० मा पर्न सक्थें भन्ने लाग्दैनथ्यो तर हिट चाहिँ पक्का हुन्थेँ । यहि कारणले मैले गायनलाई एउटा रुचिको रुपमा मात्र लिएँ ।

तपाईले आफ्नै फिल्ममा पनि गाउनु भएन ?
मैले कहिल्यै पनि प्रयास गरिन । ‘नेपाली बाबु’ को ‘म हुँ नेपाली बाबु’ एक पटक उदित नारायणलाई गाउन लगाउने भनेर मुम्बई गएका थियौ । तर १-२ दिन सम्मनै उदितले समय नदिएपछि शम्भुजितजीले आफै गाउँछु भन्नुभयो ।

मैले ‘म आफै फिल्मको निर्माता हो, आफै गायक पनि हो, मै गाउँछु’ भने । भोलिपल्ट पनि उदित नआएपछि मैले गाएँ । मेरो स्वर सुनेर स्टुडियोको रेकर्डिस्ट पनि जिल खाए । मैले ‘म रेडियो नेपालको गायक हो, राम्रै गाउँछु तर म उदित बराबर त गाउन सक्दिन नि’ भनें । गीत रेकर्डिंग हुँदा हुदै उदित आइपुग्यो । अनि हाम्ले छिटो छिटो रेकर्डिंग बन्द गर्यौ र उदितलाई गाउन भन्यौ । हाम्ले रेकर्ड गरेको उसलाई थाहै दिएनौ । यदि त्यो दिन पनि उदित नआएको भए मेरो स्वरको गीतनै फिल्ममा जान्थ्यो ।

तपाई आफैले बाजाहरु पनि बजाउनु हुन्थ्यो ?
म अलि अलि गितार बजाउछु । एकदमै राम्रो त हैन, परेको बेला आफ्नो गीतमा चाहिं बजाउँछु । तर मैले भन्दा राम्रो अनमोलले बजाउँछ । उतिबेला रेडियो नेपालमा कहिले काहीं स्टेज कार्यक्रमहरु हुन्थ्यो । त्यो बेलामा नारायण गोपाल दाई, भक्तराज दाईहरु हार्मोनियम अनि थोरै मात्र वाद्य वादकसंग गाउनु हुन्थ्यो । तर सायद अर्केष्ट्रा लिएर गीत गाएको पहिलो गायक मै हुँ । ड्रमसेट, इलेक्ट्रिक गितारहरु लगेर म पर्फर्म गर्थें । त्यतिबेलाका संगीतकारहरु नै एकसे एक थिए । म ह्यान्डसम पनि थिएँ, स्टाइलिस पनि, अर्केष्ट्रा लिएर स्टेजमा गएपछि मेरो स्वर भन्दा पनि मेरो एप्रोचले नै मानिसहरु प्रभावित हुन्थे ।