अब चलचित्र क्षेत्रको समुन्नतीको कल्पना गर्न सकिन्छ – चलचित्र संघ

सोमवार चलचित्र विकास बोर्डको अध्यक्षको पदभार ग्रहण गरेका केशव भट्टराईलाई चलचित्र संघले बधाई दिएको छ । मंगलवार संघकै सभाहलमा एक कार्यक्रमको आयोजना गरी चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदय लगायत संघका पदाधिकारीहरुले बधाई तथा शुभकामना दिएका हुन् ।

कार्यक्रममा बोल्दै चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदयले फिल्म बुझेको व्यक्ति बोर्ड अध्यक्षको पदमा आएकाले अब फिल्म क्षेत्रको विकास हुने आशा ब्यक्त गरे । चलचित्र संघको तर्फबाट आधिकारिक धारणा राख्दै उनले फिल्म निर्माण, वितरण र प्रदर्शन सम्मका सम्पूर्ण पक्ष बुझेको व्यक्ति बोर्ड अध्यक्षमा नियुक्त भएकाले अब चलचित्र क्षेत्रको समुन्नतीको कल्पना गर्न सकिने विश्वास ब्यक्त गरे । सरकारले फिल्म क्षेत्र प्रती कुनै चासो नराखेका कारण पनि फिल्म क्षेत्रमा सोचेअनुरुप परिवर्तन हुन नसकेको उनले बताए । यसअघिका बोर्ड अध्यक्षहरुले पद मात्र धारण गरेको र फिल्म क्षेत्रलाई नै नबुझेका व्यक्तिहरुको प्रवेशले यस क्षेत्रमा महत्वपुर्ण उपलब्धी हाँसिल गर्न नसकिएको उनको भनाई थियो । उनले नेपाल चलचित्र संघ नेपाली फिल्मको विकासमा सधैँ सकारात्मक रहेको र यस क्षेत्रको श्रीवृद्धिमा चलचित्र विकास बोर्डलाई सहयोग गर्न सधैँ सकारात्मक हिसावले अगाडी बढ्ने प्रतिवद्धता ब्यक्त गरे ।

त्यस्तै कार्यक्रममा बोल्दै निर्माता संघका अध्यक्ष आकाश अधिकारीले सबै भन्दा महत्वपुर्ण पाटो भनेको राष्ट्रीय चलचित्र निती भएकाले त्यसको कार्यान्वयनमा यथासिघ्र लाग्न बोर्ड अध्यक्ष भट्टराईलाई अनुरोध गरेका थिए । उनले नेपाली फिल्मको विदेशी बजार खोज्ने कार्यमा पनि अगाडि बढ्न सुझाएका थिए ।

सोही कार्यक्रममा बोल्दै बोर्ड अध्यक्ष भट्टराईले नेपाली फिल्मको विकासमा आफु लागि पर्ने प्रतिबद्धता जाहेर गरे । उनले सोही कार्यक्रमको स्टेजबाट नेपाल चलचित्र निर्माता संघको संयोजक पदबाट राजिनामा दिएको घोषणा समेत गरे ।