नेपथ्यको अष्ट्रेलिया यात्रा यसकारण विशेष

पातलो शरिर, लामो अर्ध सेतो कपाल, उमेरका धर्का परिसकेका अनुहार छोप्ने गरि सिउरिएको गोलाकार चस्मा । झण्ट हेर्दा एउटा फिरन्ते जस्तो देखिने ५१ वर्षका तिनै अमृत गुरुङ सांगेतिक यात्राका लागि अष्ट्रेलिया आईपुगेका छन् ।सोमबार सांझ व्रिजवेनको ८८४८ मःम हाउसमा प्रसंशकहरु माझ झुल्किएका अमृत गुरुङका शालिनताले धेरैलाई लोभ्याएको थियो । प्रशंसकहरुले फोटो खिच्न आग्रह गर्दा बसिरहेको मेचबाट उठ्ने र शिरको चुच्चे टोपी खोलिदिएर आदर प्रकट गर्ने उनको बानी व्रिजवेनमा पनि दोहोरियो ।

घुम्न मन पराउने र कम बोल्ने अमृत अन्तर्मुखी स्वभावका छन् । तर मञ्चमा चढ्ने बित्तिकै विष्फोटक बन्छन् । नेपाल ट्युबसंग कुरा गर्दै अमृत भन्छन् -‘मञ्चमा उक्लिएपछि त्यहाँको लाईट, आवाज र दर्शकको उत्साहले ममा अचानक संगितको नशा चढ्छ । त्यसपछि त केवल संगित बाहेक केही बाँकी रहदैन ।’

पोखरामा जन्मिएका अमृत गुरुङले अन्य दुई जनासंग मिलेर सन् १९९१ मा नेपथ्य व्याण्ड स्थापना गरेका थिए । ती दुई साथी अहिले व्याण्डमा छैनन् । तर, अमृतकाे जिवननै नेपथ्य बनेकाे छ । निरन्तर नेपथ्यको यात्रा कसरी संभव भयो ? यसका उतार चढावका विषयमा अमृत गुरुङले नेपाल ट्युबका लागि विशेष अन्तरवार्ता दिएका छन् । सो सामाग्री तपाईले नेपाल ट्युबको युट्युब च्यानलमा हेर्न सक्नुहुन्छ ।

अष्ट्रेलिया यात्रा
चौथो संस्करणको नेपथ्य अष्ट्रेलिया यात्रा मंगलबार व्रिजवेनबाट सुरु भएकोछ । ३ हजार दर्शक अट्ने फर्चिच्युड सांगेतिक हलमा नेपथ्यको कन्सर्ट हुदैछ । ११ सय वटा सिट र ३ हजार मानिस उभिन सक्ने यो वालरुम थियटर अष्ट्रेलियाकै ठुलो मध्येको एक हल हो । ८८४८ इभेन्टले नेपथ्यलाई व्रिजवेनमा भित्र्याएको हो । हालसम्म २ हजार टिकट बिक्री भईसकेको छ भने डोर सेलमा समेत टिकट बिक्री ह्वात्तै बढ्ने देखिएको छ । इभेन्टले कन्सर्टका लागि साधारणतर्फ ३५, विद्यार्थीका लागि ३० र डोर सेलका लागि ४५ डलर टिकट मुल्य तोकेको छ । डोर सेलमा बढी पैसा तिर्नुभन्दा पहिलै नै आफ्नो टिकट किन्न आयोजकले अनुरोध गरेको छ ।

श्रृंखलाबद्ध प्रस्तुति लिएर लोकरक ब्याण्ड नेपथ्यले सन् २००९ मा पहिलो पटक अष्ट्रेलियाको सांगीतिक यात्रा सुरु गरेको थियो । यहाँ बस्ने नेपालीहरूको ईच्छा र मायाको सम्मान गर्दै नेपथ्यले अष्ट्रेलियामा चौथो संस्करण लिएर आएको हो ।अष्ट्रेलियाको माया बारे अमृत भन्छन् – ‘अष्ट्रेलिया नेपथ्यका लागि सधै विशेष छ । सन् २०१२ मा सिड्नीको टाउन हलमा भएको कन्सर्टले नै हाम्रो करियरमा नयाँ मोड ल्याईदियो ।’ अमृत थप्छन् -‘सिड्नीको त्यहि माया र साथले हामीलाई विश्वभर कन्सर्ट गर्न बाटो खोलिदियो । त्यसैले हामी अष्ट्रेलियावासी नेपालीप्रति सधै आभारी छौ ।’

यसपटक नेपथ्य भ्रमण टोलीमा छ जना ब्याण्डका सदस्य हुनेछन् भने प्राविधिक एवं व्यवस्थापन गरेर १२ सदस्यीय समूह रहेको छ । अमृतलाई यो यात्रामा ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाउने छन्। ब्रिसबेनपछि नेपथ्यले नोभेम्बर २२ तारिखडार्बिनमा, एडिलेडमा डिसेम्बर ३, होबार्टमा डिसेम्बर ८, सिड्नीमा डिसेम्बर १४ मा प्रस्तुति दिनेछ । यस यात्राको अन्तिम कार्यक्रम मेलवर्नमा डिसेम्बर २३ का दिन हुनेछ।

नेपथ्यको यस वर्षको यात्रा संयोजन ‘नेपाली टच’ले गर्न लागेको हो। नेपथ्यको कार्यक्रमहरूको स्थानीय आयाेजक भने फरक छन् । ब्रिसवेनमा माउन्ट ८८४८ इभेन्ट, डार्विनमा गोर्खा पल्टन, एडिलेडमा गिरिश एंड ३ केजी ईभेन्ट, होवार्टमा ताज इभेन्ट र मेलवर्नमा नेप्ले इभेन्ट ले गर्नेछ भने सिड्नीको आयोजना नेपाली टच आफैले गर्नेछ।
साभार : नेपालट्युब डट कम