छायांकार गुरुङको अल्पायुमै निधन

फिल्मका छायांकार खिमबहादुर गुरुङको ३३ बर्षको उमेरमा निधन भएको छ । लमजुङको मध्यनेपाल नगरपालिका ५, समीभञ्ज्याङ घर भएका गुरुङको उपचारको क्रममा सोमबार दिउँसो पोखरास्थित मेडिप्लस हस्पिटलमा निधन भएको हो ।

गत असोज १७ गते गाउँ चिनारी गीत निर्माणका लागि मर्स्याङ्दी गाउँपालिका ५, घेर्मुको निउरी गएका गुरुङ बिरामी भएपछि २१ गते पोखरा फर्किएर २२ गतेदेखि अस्पताल भर्ना भएका थिए । उनको फोक्सोमा निमोनियाका साथै गम्भीर संक्रमण देखिएको थियो । उनमा कोभिड संक्रमण पनि पुष्टि भएको थियो ।

खिमबहादुर गुरुङको उपचारको क्रममा सोमबार दिउँसो २ बजेर १७ मिनेटमा निधन भएको गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान) का निवर्तमान अध्यक्ष भोजबहादुर गुरुङले जानकारी दिए । मुनाल फिल्मस् प्रालिका संचालक समेत रहेका भोजबहादुरका अनुसार खिमबहादुर गुरुङ २०६३ सालमा गुरुङ फिल्म सैं न्होर्बें मु्रस्यो (मनभित्रकी रानी) निर्माणका क्रममा क्यामरा सञ्चालन सहयोगी हुँदै गुरुङ फिल्मको छायांकन र त्यसपछि सम्पादन क्षेत्रमा क्रियाशील थिए ।

करीब १५ बर्षको अवधिमा स्वर्गीय खिमबहादुरले १७ भन्दा बढी गुरुङ फिल्म, नेपाली भिडियो फिल्म र थुप्रै बृत्तचित्रहरुको छायांकन र सम्पादन गरिसकेका छन । उनले २ सय भन्दा बढी म्युजिक भिडियो र गाउँ चिनारी गीतको छायांकन, सम्पादन र मिक्सिङ गरिसकेका छन ।

गुरुङ फिल्म एसोसिएसन नेपालका पूर्व प्राविधिक विभाग प्रमुख समेत रहेका गुरुङ मुनाल फिल्मस् प्रालिसंग आवद्ध थिए । सुरुका केही समय प्रेम गुरुङसंग मिलेर सुपर युनिक फिल्म पोडक्सन संचालन गरेका थिए । तर पछिल्लो समय उनी रोधीं टेलिभिजनका छायांकार तथा सम्पादकका साथै स्ट्रिम नेपाल युट्युब च्यानलको एडमिन समेत रहेका थिए । स्वर्गीय खिमबहादुर गुरुङका श्रीमती र ११ बर्षीय छोरा छन् । जिफानका संस्थापक अध्यक्ष माओत्से गुरुङले खिमबहादुर गुरुङको निधनले गुरुङ फिल्म उद्योग तथा नेपाली फिल्मी क्षेत्रमै अपुरणीय क्षति पुगेको बताए ।