आफ्नै भवनबाट सञ्चालनमा आयो मण्डला थिएटर

काठमाडौमा मण्डला नाटकघर फेरि सञ्चालनमा आएको छ ।

बिहीबारदेखि काठमाडौंको थापागाउँस्थित आफ्नै भवनबाट मण्डला नाटकघर सञ्चालनमा आएको हो । उपराष्ट्रपति नन्दबहादुर पुनले मण्डलाको नयाँ भवन उद्घाटन गरे।

उद्घाटन कार्यक्रममा उपराष्ट्रपति पुनले साहित्यले समाजको चित्रणका साथै समाजलाई सही रुपान्तरण गर्न सक्ने बताए । उनले साहित्य समृद्धितर्फ अग्रसर हुनुपर्ने भन्दै मुलुकको परिर्वतनमा यस क्षेत्रले पुर्याएको योगदानको चर्चा गरे । नेपालमा नाटकको इतिहास लामो रहेको र यसलाई निरन्रता दिनु उचिकै चूनौतिपूर्ण रहेको उनको भनाइ छ ।

उनले नेपालको नाटक क्षेत्रको उत्थानका लागि सरकारले अझै पहल गर्नुपर्ने धारणा राखे।

नयाँ भवनमा दुईवटा नाटकघर रहेका छन् । २०० सिट क्षमताको ठूलो अडिटोरियम र ७० सिट क्षमताको बाल नाटकघर निर्माण गरिएको छ। ३० आना जग्गालाई भाडामा लिएर मण्डलाले आफैंले भवन निर्माण गरेको हो।

सन् २००९ देखि अनामनगरमा मण्डला नाटक घर सञ्चालन हुँदै आएको थियो। यस नाटकघरमा विजय बरालसहित अभिनेता बुद्धि तामाङ, अभिनेत्री सिर्जना सुब्बा लगायतका नाट्यकर्मी नयाँ भवन बनेपछि उत्साहित देखिएका थिए ।

कार्यक्रममा कलाकार दीपाश्री निरौला, दीपक राज गिरि लगायतको उपस्थिती रहेको थियो ।