गजलकार घनेन्द्र ओझाका रचनाहरू र सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत रहेको गजल एल्बम ‘शुभेच्छा’ सार्वजनिक

गजलकार घनेन्द्र ओझाका रचनाहरू र सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत रहेको गजल एल्बम ‘शुभेच्छा’ सार्वजनिक गरिएको छ ।

शनिबार १५७औँ मोतीजयन्तीको अवसरमा अनाममण्डलीले आयोजना गरेको कार्यक्रममा उक्त एल्बमको लोकार्पण गरिएको हो ।

नेपाली गजल सङ्गीतमा आउने क्रम क्रमशः बढिरहेको बताउँदै गजलकार करुण थापाले लामो समयदेखि गजललेखन, अभियान र समालोचनामा सक्रिय घनेन्द्रले बहरका मात्र गजलहरूको एल्बम तयार पारेर नेपाली गजलका क्षेत्रमा उल्लेख्य कार्य गरेको बताए । थापाले ओझाले नेपाली गजलमा बहरबद्ध एकल सङ्ग्रह लेखन, संयुक्त सङ्ग्रहको सम्पादन तथा अन्य धेरै कार्यहरू गरिसकेका र सम्भवतः यही एल्ब निकाल्न मात्र बाँकी रहेकाले त्यो कार्य पनि पूरा गरेको हुन सक्ने धारणा राखे । लामो समयदेखि सङ्गीत क्षेत्रमा सक्रिय सन्तोष श्रेष्ठको सङ्गीत भर्ने कला प्रशंसनीय रहेको थापाको भनाइ थियो ।

नेपाल प्रज्ञाप्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले सिर्जनशील कर्ममा रमाइरहने स्वभावका घनेन्द्र बहुआयामिक व्यक्तित्व भएका र गजलका क्षेत्रमै समर्पित भएकाले एल्बम प्रकाशन सराहनीय कदम रहेको बताए ।

पूर्व मुख्य सचिव एवं साहित्यकार डा. भोजराज घिमिरेले थजल आफैँमा बहरमै लेखिने भएकाले शास्त्रीय र गैरशास्त्रीय बहरका वा गैरबहरका भनिरहनु नपर्ने धारणा राखे । डा. घिमिरेले अब नेपाली गजलमा सङ्गीतको लहर आउन सक्ने आँकलन पनि गरे ।

प्रमुख अतिथि प्रा.डा. कृष्णहरि बरालले नेपाली गजल गायनको शैली, नेपाली गजल सङ्गीतको शैली नेपालीकरण भइरहेको र सोहीअनुसार पछिल्लो समय नेपाल गजलमा सङ्गीत भरिँदै आएको बताए । यस एल्बमका रचनामा शास्त्रीय शैलीको सङ्गीत र गायनको माग भएको भए पनि सङ्गीतकार श्रेष्ठले नेपाली शैलीकै अर्धशास्त्रीय शैलीमा सुन्दर सङ्गीत भरेका डा. बरालको भनाइ थियो ।

गजलकार राधा कणेलले घनेन्द्र नेपाली गजल परिष्कारका लागि लामो समयदेखि लागिरहेका र त्यसकै पछिल्लो कार्य शुभेच्छा एल्बम रहेको बताइन् ।

नेपाली गजल सङ्गीतका क्षेत्रमा बहरमा मात्र लेखिएका गजलहरूको एल्बम हालसम्म नपाइएको र बहरबद्ध गजलहरूलाई एल्बमकै रूपमा ल्याउनु राम्रो हुने ठानेर एल्बम तयार पारेको सङ्गीतकार श्रेष्ठले बताए ।

गजलकार रूपक अलङ्कारले सङ्गीतमा आएपछिको गजलको स्वाद नै भिन्न हुनेरहेछ भन्दै घनेन्द्रका गजलले बल्ल प्राण पाएको बताए ।

एल्बममा नेपाली गायनका ४ पुस्ता समेट्ने प्रयास सफल भएको घनेन्द्र ओझाले बताए । उनले भने, ‘हामीले बहरबद्ध गजलहरूको एल्बमको अभाव त देख्यौँ नै, त्यससँगै एउटै एल्बममा, त्यो पनि गजलमा नेपाली गायनका ४ पुस्ता जोड्ने सोच बनाएर यो काम गरेका हौँ ।’

एल्बममा पहिलो पुस्ताबाट ज्ञानु राणा, दोस्रो पुस्ताबाट आनन्द काकी, तेस्रो पुस्ताबाट शिव परियार, निशा देशार र सन्तोष श्रेष्ठ तथा चौथो पुस्ताबाट अस्मिता अधिकारीको स्वर समेटिएको छ । एल्बम कामना डिजिटल प्रालिले ल्याएको हो ।