साम्राज्ञी भन्छिन्- मैले 'तिम्रो मेरो साथ'लाई अलपत्र छोड्या छैन

शुक्रबारबाट प्रदर्शित तिम्रो मेरो साथले सुखद् कमाई गर्न सकेको छैन । प्रचार-प्रसारमा राम्रै दौडधूप गरेकी साम्राज्ञीले उपत्यकाबाहिरका विभिन्न शहरहरू पुगेर प्रचार समेत गरिन् । राजधानी केन्द्रित प्रचारमा पनि उनी निकै खटिइन् । तर, रिलिजको भोलिपल्टैबाट उनले तिम्रो मेरो साथलाई छाडेर यही माघ २० गतेबाट प्रदर्शनमा आउन लागेको आफ्नो नयाँ फिल्म ‘ह्यारी कि प्यारी’लाई काखी च्यापेपछि यस्तो आरोप लागेको हो । रिलिज भए लगतै फिल्मलाई साथ नदिएको भन्दै साम्राज्ञीको यति बेला धेरै आलोचना भइरहेको छ ।

केही दिन अघि फिल्म निर्माता सन्तोषले रिलिज लगत्तै साम्राज्ञीले साथ छाडेकोप्रति लक्षित गर्दै निर्माताको पीडा बुझ्न आग्रह गरेका थिए । सेनले करोडौँको लगानी र वर्षौँको समय लाग्ने तर यहाँ जन्माएर अलपत्र छाडेर जाने कलाकार रहेको भन्दै साम्राज्ञीको नाम नलिईकनै पेचिलो कटाक्ष समेत गरेका थिए ।

सेन लेखेका थिए, ‘एउटा फिल्म हलसम्म आइपुग्दा ४००-५०० जना मानिसको दिमागसँगै मेहनत लाग्ने गर्छ । करोडौँ पैसादेखि, वर्षौँको समय लगानी भएको हुन्छ । अन्तिम साससम्म आस हुन्छ भन्छन् । तर यहाँ जन्माएर अलपत्र छाडेर जाने कलाकार छन्, त्यो पनि मुख्य केन्द्रमा रहेका कलाकार । हाम्रो फिल्म क्षेत्र बामे मात्र सर्दै छ, हिँड्न सकेको छैन । कसैले फूर्ति नलगाए पनि हुन्छ । लगानी फिर्ता आउने ०.५ प्रतिशत ग्यारेन्टी नहुँदा यत्रो चुनौती मोलेको अवस्थामा कम्तीमा प्रदर्शनको दुई तीन दिन त साथ दिनुपर्छ, चिन्तित हुनुपर्छ । आत्मरतिमा रमाउन भन्दा पनि सिङ्गो क्षेत्रलाई अगाडि लिएर जानुपर्छ भन्ने सोच पालौँ ।’

साम्राज्ञी यो समय ह्यारी कि प्यारीको प्रचारमा छिन् । यस्तैमा आज ह्यारीकी प्यारीको प्रचाकालागि कमेडी क्लब विथ च्याम्पियनमा पुगेकी उनले आफ्ना लागि दुवै फिल्म उत्तिकै प्रिय भएको प्रतिक्रिया दिँदै 'तिम्रो मेरो साथ' टिमको साथ नछाडेको बताएकी छिन् ।

साम्राज्ञीले भनिन्- 'उहाँहरूलाई पनि थाहा छ मैले एकदमै साथ दिएको हो एकदम सपोट गर्‍या हो, मैले एक छिन पनि साथ छोड्या थिइन्, त्यो मेरो कमिटमेन्ट हो, लगतै मेरो अर्को फिल्म छ । मैले उहाँहरूलाई जसरी समय दिए त्यसरी नै यहाँ पनि त दिन पर्‍यो नि, मैले कहिले पनि लोभ लालच यो त्यो गरेर गर्‍या छैन । पूर्णरुपमा जसरी उहाँहरूलाई माया गरेको थिए यहाँहरूलाई पनि त माया गर्न पर्‍यो नी ।'