‘कामिनो’ बन्दै प्रदीप


चकलेटी नायक प्रदीप खड्काले नयाँ फिल्म साइन गरेका छन् । उनले, दीपक ओलीको निर्देशनमा तयार हुन लागेको नयाँ चलचित्र ‘कामिनो’मा काम गर्ने पक्का भएको हो । यो चलचित्रको बुधबार थीम पोष्टर सार्वजनिक गरिएको छ ।

एक्सेस नेपाल फिल्मस्को निर्माण, पूर्ण लामा क्रियटिभ निर्देशक र सुनिल बिष्ट कार्यकारी निर्माता रहेको फिल्मको कथा महेश दवाडीले लेखेका हुन् । स्क्रिप्ट, टिम र क्यानभास मन परेपछि प्रदीपले यो फिल्म साइन गरेका हुन् ।

शुक्रबार प्रदीप र फिल्मको टिमबिच औपचारिक रुपमा संझौता भएको हो । यो फिल्मको छायांकन नेपाल र ल्याटिन अमेरिकामा हुनेछ । फिल्ममा प्रेम, रोमान्स र सन्पेन्स प्रस्तुत हुने निर्देशक ओलीको भनाई छ । यो फिल्मको छायांकन चैत्रको तेश्रो साताबाट सुरु हुनेछ ।

सौरभ लामाको छायांकन रहने फिल्ममा एसडी योगी र एलिस कार्कीको संगीत, सम्राट बस्नेतको एक्सन, दिनेश प्रकाश महराको प्रोडक्शन रहनेछ । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहने फिल्ममा महेशसँगै कुञ्जन भट्टराईको लेखन छ ।

फिल्मका लागि नायिका र अन्य कलाकार चाडै चयन गरिने निर्माणपक्षले बताएको छ । फिल्म ‘प्रेमगीत ३’ पछि प्रदीपले नयाँ फिल्म साइन गरेका हुन् ।