गायक प्रमोद खरेलले आफ्नो पारिश्रमिक घाइतेको उपचारमा खर्च गर्ने

गायक प्रमोद खरेलले आफूले पाउने पारिश्रमिक धनकुटा महोत्सवमा घाइतेहरूका लागि खर्च गर्ने भएका छन् ।

गए राति (शनिबार) खरेलको ‘कन्सर्ट’ हेर्न र हाउजी बिङ्गो खेल्न आएको भीड कार्यक्रम सुरु हुनुअघि अनियन्त्रित हुँदा घाइते ३० जना घाइते भएका थिए ।

उक्त घटनाका बारेमा जानकारी दिनका लागि आयोजक संस्था उद्योग वाणिज्य सङ्घ धनकुटाले आयोजना गरेको पत्रकार सम्मेलनमा खरेलले फोन गरेर घाइतेहरूका लागि खर्च गर्ने बताएका हुन्। घटनाप्रति दुःख प्रकट गर्दै ‘कन्सर्ट’ का लागि तोकिएको आफ्नो पारिश्रमिक घाइतेहरूका उपचारमा खर्च गर्ने जानकारी दिए । 

३० जना घाइतेहरूको धरान र विराटनगरमा उपचार भइरहेको छ । खरेलले रकमका विषयमा नबताए पनि घाइतेहरूका लागि खर्च गर्ने भएका छन् ।

घाइतेहरूको उपचारका लागि हाल भूमि व्यवस्था तथा सहकारी गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईको पहलमा भइरहेको र थप सबै उपचार रकम आयोजकले बेहोर्ने सङ्घका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिए ।