‘मनसँग मन’को ट्रेलर: वर्षा र पुष्पको आकर्षक केमेस्ट्री र प्रेममा आउने उतार- चढाव

फिल्म ‘मनसँग मन’को ट्रेलर सार्वजनिक गरिएको छ ।

आगामी माघ २७ गते प्रदर्शनको तयारीमा रहेको प्रेमकथामा आधारित फिल्ममा पुष्प खड्का, वर्षा सिवाकोटी, बुद्धि तामाङ प्रमुख भूमिकामा छन् ।

कैलाश राईद्वारा निर्देशित यो फिल्मको सोमबार सार्वजनिक ट्रेलरमा अभिनेता पुष्प र अभिनेत्री वर्षाबिचको प्रेममा आउने उतार-चढावलाई देखाइएको छ । पुष्प र वर्षाबिचको आकर्षक केमेस्ट्री देखिएको ट्रेलरमा प्रेम र त्यसबिचमा आउने खलपत्रसँगको संघर्षलाई पनि चित्रण गरिएको छ ।

ट्रेलरलाई संगीतमार्फत रोमान्टिक तुल्याइएको छ भने, साथमा पुष्प एक्सन अवतारमा पनि प्रस्तुत भएका छन् । अरुण तामाङ निर्माता रहेको फिल्ममा रवीन्द्र झा, महेन्द्र बगदास, चाँदनी प्रधान, शान्ति दालगायतको पनि अभिनय छ ।

अर्जुन पोखरेल, अगोमा गुरुङ र दीपक शर्माको संगीत रहेको यस फिल्मको एक गीतमा नायक पल शाह र नायिका पूजा शर्माले नृत्य गरेका छन् ।  दुई वर्ष अगाडि नै युट्युबमा सार्वजनिक भएको ‘मेरो त भाग्य’ बोलको गीतमा पल र पूजाले नृत्य गरेका हुन् ।

सौरभ इन्टरटेन्मेन्ट र बालाली इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्मित फिल्ममा सौरभ लामाको छायांकन, अर्जुन जिसीको सम्पादन, रामजी लामिछाने र कमल राईको कोरियोग्राफी, कैलाश राई को कथा तथा पटकथा र सन्तोष खवासको द्वन्द्व निर्देशन छ ।

फिल्मको प्रदर्शन मिति नजिकिए पनि कलाकारहरू प्रचारप्रसारमा भने सक्रिय देखिएका छैनन् ।