एक्सन फिल्म गर्ने पुष्पको चाहना


नायक पुष्प खड्काले अभिनय गरेका २ फिल्म ‘कृष्णलीला र तिम्रो मेरो साथ’ यो बर्ष रिलिज भए । अर्को फिल्म ‘मनसँग मन’ शुक्रबारदेखि नेपालभर रिलिज हुँदैछ । रिलिज भैसकेका २ फिल्म बक्स अफिसमा असफल भए । तेश्रो फिल्म ‘मनसँग मन’ले कस्तो व्यापार गर्ने हो, हेर्न बाँकी छ । 

तर, नायक पुष्प खड्का अब केही नयाँ गर्न चाहन्छन् । ‘मनसँग मन’मा पुष्पको एक्सन दृश्य हेर्न सकिन्छ । उसो त, पुष्पले केही म्यूजिक भिडियोमा समेत एक्सन गरेका छन् । 

पुष्पको अबको चाहना पनि एक्सनमा काम गर्नेछ । तर, उनले आफूले खोजे जस्तो एक्सन फिल्म पाएका छैनन् । केही फिल्ममा पुष्पले गरेका एक्सन दृश्यहरुले पनि उनको संभावना यस्ता खालका फिल्ममा अझै बढी रहेको थाहा हुन्छ । 

पुष्पले फिल्म ‘एक्स ९’मा काम गर्ने पक्का भएको थियो । तर, फिल्मको काम अगाडि बढ्न सकेन । 

पुष्प आफैले पनि अब आफूलाई एक्सन फिल्म गर्न मन लागेको बताएका छन् । ‘मनसँग मन’को प्रचारका क्रममा मिडियासँग कुरा गर्दै पुष्पले एक्सन फिल्मका लागि काम गर्न आफु आतुर रहेको बताएका छन् ।