भुवन केसीको साथ छाड्दै सल्लाहाकार, एकपछि अर्को राजीनामाको लहर


चलचित्र विकास बोर्डको अध्यक्ष पदमा पुगेपछि भुवन केसीले आधा दर्जन बढीलाई सल्लाहाकार बनाए । विकास बोर्डमा गएर ठूलै चमत्कार गर्छन् कि भन्ने आशा बोकेका भुवन केसीले कार्यकाल आधा बर्ष बितिसक्दा पनि कुनै काम गर्न सकेका छैनन् । बरु, उनी निरन्तर आफ्नै निर्णयका कारण विवादमा परिरहेका छन् । 

भुवन केसीलाई अब उनका सल्लाहाकारहरुले समेत पत्याउन छाडेका छन् । यसैले, भुवन केसीले नियुक्त गरेका अधिकांश सल्लाहाकारहरुले राजीनामा दिइरहेका छन् । सूर्य कर्पोरेशनलाई व्यवस्थापकिय जिम्मेवारी दिएर विकास बोर्डले दुबइमा महोत्सवको आयोजना गर्दैछ । तर, व्यवस्थापकीय  जिम्मेवारी मात्र सम्हालेको कर्पोरेशनले बोर्डलाई समेत हस्तक्षेप गरेको वुझिन्छ । महोत्सवमा विकास बोर्डले खर्च गरेपनि हाबी कर्पोरेशन देखिएको छ । यो कुरामा बोर्ड अध्यक्ष निरिह देखिएका छन् । 

विकास बोर्डको सल्लाहाकार समितीबाट संयोजक निर शाहले राजीनामा दिएका छन् । उनी, कुनै सल्लाहाविना नै दुबइमा फिल्म महोत्सव आयोजना गर्न लागिएकोमा असन्तुष्ट थिए । यस्तै, भुवनको नजिकको मानिएका चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले पनि उनको साथ छाडेका छन् । सल्लाहाकार समितीकै सुशान्त कुमार श्रेष्ठ, दीपाश्री निरौलाले पनि राजीनामा दिइसकेका छन् । यस्तै, आकाश अधिकारीले पनि राजीनामा दिने तयारीमा छन् । 

विकास बोर्डमा आधा बर्ष पनि बिताउन नपाउँदै भुवन केसी विवादको घेरामा निरन्तर छन् । 

फिल्म क्षेत्रका वुझेका मानिस विकास बोर्डमा जादा फिल्म क्षेत्रले ठूलै सफलता पाउने आशा गरिएपनि विस्तारै फिल्मीकर्मीमा निराशा छाइरहेको छ । भुवन केसी भने वेतुकका महोत्सवमै रमाइरहेका छन् ।