दोस्रो सातामापनि 'ह्यारीकी प्यारी' हेर्ने दर्शकको चाप बढ्दै

गत शुक्रवारदेखि सार्वजनिक प्रदर्शनमा आएको फिल्म 'ह्यारीकी प्यारी'ले दोस्रो शनिवार पनि दर्शक साथ पाएको छ ।

जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनीत फिल्मको व्यापार 'वर्ड अफ माउथ'को सकारात्मक प्रभाव पर्यो । शनिवार राजधानीका लाबिम मल, ओम सिनेमा, भक्तपुर क्युएफएक्स, केएल टावरलगायतका स्टेसनमा फिल्मले हाउसफुलको व्यापार गर्यो । अन्य हलमा ५० देखि ६० प्रतिशत अकुपेन्सी रहेको कलाकार जितुले जानकारी दिए ।

शनिवार जितुसहित साम्राज्ञी, विजय बराल र निर्देशक कपिल रिजालको टिमले लाबिम मल, भक्तपुर क्युएफएक्स र वान सिनेमाजमा पुगेर दर्शक प्रतिक्रिया पनि लिएका छन् ।

व्यापारबाट उत्साहित भएका जितुले आफ्नो फिल्मले बम्पर ओपनिङ नगरे पनि 'वर्ड अफ माउथ'ले लामो समयमा हल टिक्ने विश्वास व्यक्त गरे ।

'फिल्म हेर्ने दर्शकको चाप बढ्दै छ । वर्ड अफ माउथले गर्दा आज प्रदर्शनको नवौँ दिनमा पनि हाउसफुलको व्यापार गर्यो । कर्पोरेट लेभलका मान्छेहरुपनि आइराख्नु भएको छ । विशेष गरी परिवारसहित हेर्नेको सङ्ख्या ठुलो छ ।' जितुले शनिवारको व्यापारिक रिपोर्टबारे बताए ।

'फिल्मको उत्कृष्ट प्रतिक्रियाले दर्शकमा यसको प्रभाव पर्दै छ । मेरो फिल्मले बम्पर हानेको छैन । खतम व्यापार पनि छैन । २० गते रिलिज भएको फिल्मले आजको दिनसम्म पनि दर्शकको साथ पाइराखेको छ । लगातार एउटै अनुपातमा छ । आशा छ अझै लामो समय प्रदर्शन जारी हुनेछ ।' जितु आशावादी देखिए ।

दोस्रो शुक्रवारसम्म फिल्मले ८५ लाख ग्रस कलेक्सन गरिसकेको निर्माण पक्षले जानकारी दिएको छ । आज शनिवारको व्यापारिक रिपोर्टसँगै सिनेमाले करोडको आँकडा छुने अनुमान गरिएको छ ।

फरक पृष्ठभूमिका दुई व्यक्तिबिचको सम्झौताको विवाहले जीवनमा आउने परिवर्तनको कथा भन्ने सिनेमाको कथावस्तुको दर्शकले तारिफ गरेका छन्। यस्तै पहिलो पटक सँगै काम गरेका जितु र साम्राज्ञीको जोडीलाई पनि रुचाइएको छ ।

जितु, साम्राज्ञी र विजयसँगै फिल्ममा लक्ष्मी गिरी, सुवाष गजुरेल, रञ्जना भट्टराई, सरला रिजाललगायतका कलाकारहरूको अभिनय छ ।

निर्देशक रिजालकै कथा रहेको फिल्ममा सुदिप बराल, गिरिराज घिमिरे, अभिमन्यु निरवी र निर्देशक स्वयम्को लेखन छ ।

सुदिप बरालको डिओपी, रविन्द्र न्यौपानेको छायांकन, कविराज गहतराजको कोरियोग्राफी र युग भुषाल/शिखर सन्तोषको संगीत रहेको फिल्म अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

बिआर प्रोडक्सनको ब्यानरमा निर्मित फिल्ममा डा. भोला रिजालको निर्माण छ । फिल्मको कार्यकारी निर्मातामा मनिष रिजाल, प्रलय रिजाल, सुदिप बराल र जीवन ओली रहेका छन् ।