‘बागवान’को ‘कपी’ ट्यागबाट मुक्त हुन नसकेको रामबाबुको ‘फूलबारी’


आफ्नै समाजको कथालाई मिठो र सरल तरिकाले प्रस्तुत गर्न माहिर छन् निर्देशक रामबाबु गुरुङ । ‘कबड्डी’को ४ वटा श्रृङ्खला बनाउँदासम्म रामबाबुले यो कुराको प्रमाणित गरिसकेका छन् । तर, उनलाई सधै लाग्ने एउटा आरोप के हो भने उनी एउटै मुद्दामा धेरै बहकिन्छन् । 

शुक्रबारदेखि रिलिजमा आएको नेपाली फिल्म ‘फूलबारी’ पनि यो ट्यागबाट मुक्त हुन सकेन । योसँगै रामबाबुलाई यसपटक कथा कपी गरेको आरोप समेत लागेको छ । हिन्दी फिल्म ‘बागवान’सँग मिलाएर उनले फिल्म ‘फूलबारी’ नामक फिल्म तयार पारेका छन् । तर, उनले नेपाली फिल्मलाई नेपाली शैलीमा ढालेका भने छन् । 

तर, दर्शक र समीक्षकले साथ दिदै गर्दा रामबाबु जस्ता निर्देशकलाई कपीको ट्याग लाग्नु सुखद कुरा भने होइन । किनकी, समाज भित्रको कथालाई मिठो तरिकाले प्रस्तुत गर्न उनी माहिर मानिन्छन् । यसैले, रामबाबुले ‘फूलबारी’मा पनि नेपाली समाज भित्रकै पारिवारिक कथालाई प्रस्तुत गर्न सक्थे भन्ने खालका टिप्पणी भैरहेको छ । 

लामो समयपछि फेरि हलमा दर्शक फर्काएको यो फिल्मबाट रामबाबुले दर्शकलाई त रुवाएका छन् । तर, आफ्नोपन दिन नसकेकोमा आलोचना पनि भोगिरहेका छन् ।