‘छड्के २ र छक्का पन्जा ४’ रिलिजको ५ दिनपछि रिलिज होला रणवीरको फिल्म ?

नारी दिवस र फागु पूर्णिमाको अवसर पारेर फाल्गुनको १९ गते अर्थात् मार्चको ३ तारिखबाट २ नेपाली फिल्म ‘छड्के २ र छक्का पन्जा ४’ रिलिज हुँदै छन् । 

यी दुवै फिल्म यो वर्षकै प्रतीक्षित फिल्म समेत हुन् । यी दुई फिल्मले नेपाली बक्स अफिसलाई आक्रामक रूपमा चलायमान बनाउने अपेक्षा समेत गरिएको छ । तर, यी दुई फिल्म रिलिज भएको २ सातासम्म कुनै नयाँ नेपाली फिल्म नहुँदा हिन्दी फिल्म भने टाउको दुखाइको विषय बनेको छ । 

नेपालमा प्रायः शुक्रबार मात्र नयाँ फिल्म रिलिज हुने गरेका छन् । तर, कहिलेकाहीँ बलिउडका फिल्म बुधबार वा बिहीबार रिलिज हुँदा त्यसले नेपाली फिल्मलाई समस्या समेत उत्पन्न गर्ने गरेको छ । 

यी दुवै फिल्म रिलिज भएको ५ दिनपछि अर्थात् मार्चको ८ तारिखबाट नायक रणवीर कपुर र नायिका श्रद्धा कपुर अभिनीत रोमान्टिक लभ स्टोरी फिल्म ‘तु झुटी मे मक्कर’ रिलिज हुँदै छ । 

नेपाली फिल्मले रिलिज भएको ५ दिनमै नयाँ हिन्दी फिल्मका लागि केही शोज छाड्नुपर्ने अवस्था आउँछ । यसैले, यस पटक २ नेपाली फिल्मका लागि विकास बोर्ड र निर्माता संघले कुन हदसम्मको कदम चाल्छन् हेर्न बाँकी छ । हलहरूले भने हिन्दी फिल्मलाई रिलिजको सूचीमा राखिसकेका छन् ।