पलको जन्मदिनमा तनहुँ कारागार पुगिन् पूजा

File photo

नेपाली फिल्म क्षेत्रमा राम्रै चर्चा कमाइरहेका तथा म्यूजिक भिडियोमा एक छत्र राज गरेका नायक तथा मोडल पल शाहको आज जन्मदिन हो । अरु, समयमा पलले आफ्नो जन्मदिन भव्यताका साथ मनाएका थिए । गतबर्ष पनि उनले आफ्नो जन्मदिन ‘म यस्तो गीत गाउँछु २’को टिमसँग मनाएका थिए । पलको जन्मदिनमा उनका फ्यानहरुले समेत विशेष कार्यक्रम आयोजना गर्दै आएका थिए । पलले जन्मदिनमा सामाजिक काम पनि गर्दै आएका थिए । 

तर, यसपटक भने पल शाहले आफ्नो जन्मदिन फ्यान, शुभचिन्तक र परिवारसँग मनाउन पाएका छैनन् । एक नाबालिका गायिकाले बलात्कारको मुद्दामा उजुरी दिएपछि पल विगत एक बर्षदेखि तनहुँको कारागारमा छन् । यसैले, उनले जन्मदिन कारागार भित्रै मनाउनुपर्नेछ । 

तर, पललाई जन्मदिनको शुभकामना दिन उनकी नजिककी साथी नायिका पूजा शर्मा र निर्देशक शोभित बस्नेत भने तनहुँ कारागार पुगेका छन् । उनीहरुले पललाई जन्मदिनको शुभकामना दिएका छन् । 

पललाई सामाजिक संजालबाट भने जन्मदिनको शुभकामना आइरहेको छ । नेपाली फिल्म क्षेत्रमा ‘नाई नभन्नु ल ४’बाट उदाएका पलले अभिनय गरेको पछिल्लो फिल्म ‘म यस्तो गीत गाउँछु २’ हो । म्यूजिक भिडियोमा भने पल शाहले एक छत्र राज नै गरेका थिए । तर, गत बर्ष बलात्कारको मुद्दा लागेपछि भने पलको जीवन बदलियो । 

पललाई जिल्ला अदालत, तनहुँ बलात्कारको मुद्दामा सफाई दिइसकेको छ । तर, जिल्ला अदालत, नवलपुरले भने उनलाई बलात्कारको मुद्दामा सफाई दिए पनि बाल यौन दुव्र्यवहारको मुद्दामा साढे २ बर्षको जेल सजायँ सुनाएको थियो । पल, सोही फैसला अनुसार सजायँ भोगिरहेका छन् ।