भुवन केसीको दुबई महोत्सवबारे कलाकार संघका प्रश्नै प्रश्न


केही दिन अगाडि चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले पारिवारिक पिकनिक जसरी दुबइमा आयोजना गरेको ‘नेपाली सिनेमा फेष्ट’को औचित्य के थियो र त्यसले के प्रभाव पार्यो भन्ने स्पष्ट हुन सकेको छैन ।

भुवन केसीले आफ्ना नजिकका मानिसहरुलाई लगेर सूर्य कर्पोरेशन जस्तो विवादित कम्पनीलाई व्यवस्थापनको जिम्मा दिदै आयोजना गरेको महोत्सवले नेपाली फिल्म क्षेत्रलाई त खासै केही फाइदा भएन । 

अब, यो महोत्सवले आयोजकलाई केही फाइदा भयो भने यो उनीहरुले नै जान्ने कुरा हो । तर, महोत्सव सकिएपछि यसको औचित्यबारे चलचित्र कलाकार संघले प्रश्न उठाएको छ । कलाकार संघका महासचिव चेतबहादुर सिंहले विज्ञप्ती जारी गर्दै यो महोत्सवले फिल्म क्षेत्रको विकास र विस्तारमा के प्रभाव छाड्यो भनेर प्रश्न गरेका छन् । उनले, विकास बोर्डले महोत्सवको औचित्य समेत स्पष्ट पारोस् भन्दै आग्रह समेत गरेका छन् । 

कलाकार संघले समेत प्रश्न उठाएपछि विकास बोर्ड र यसका अध्यक्ष भुवन केसी अप्ठ्यारोमा परेका छन् । विकास बोर्डमा गएर ठूलै कायपलट गर्ने बताएपनि भुवन केसीले विवादित निर्णयबाहेक अन्य केही पनि काम गर्न सकेका छैनन् । यसैले, भुवन केसीबाट खुबै आशा गरेका फिल्मीकर्मीहरु निराश बनेका छन् । 

कलाकार संघले विकास बोर्डलाई ध्यानाकर्षण गराउँदै उठाएका प्रश्नहरु यसप्रकार छन्ः

१) प्रदर्शन गर्ने चलचित्रको सहभागिताको लागि सार्वजनिक सूचना जारी गरी सहभागिता जनाउन के कस्तो प्रक्रिया अपनाइएको थियो वा थिएन ?

२) सूचना जारी बोलपत्रको आह्वान गरेर निजी कम्पनीसँग सहकार्य गरिएको हो वा होइन ?

३) वार्डका पदाधिकारी, कर्मचारी, गैर कलाकार र परिवारलाई टोलीमा समाविष्ट गरिएको हो वा होइन ?

४) सरकार आयोजक भएको कार्यक्रममा निजी अवार्डको घोषणा भएको हो वा होइन ?

५) संघ, संस्था तथा चलचित्र क्षेत्रको विशिष्ट व्यक्तिलाई बेवास्ता गरिनु सहभागी नगराइनु ।

६) आयोजना अगाडि वार्डका सल्लाहकारहरुले राजीनामा गरिनु । 

७) प्रचार गरिएका चलचित्र सहभागी नहुनु ।

८) सरकारी आयोजनाको कार्यक्रममा चलचित्रको टिकट बिक्री वितरण गरिनु ।