‘छक्का पन्जा ४ र छड्के २’को ‘पठान’ शैलीको प्रचार


फागुनको १९ गते यो बर्षकै प्रतिक्षित २ फिल्म ‘छड्के २ र छक्का पन्जा ४’ रिलिज हुँदैछन् । दुबै फिल्मको प्रचारको शैली हेर्ने हो भने पहिलेको भन्दा फरक छ । 

फिल्म ‘ए मेरो हजुर ४’को प्रचारको समयमा नायक अनमोल केसी हरेक मिडियामा पुगेका थिए । सामाजिक संजालमा पनि उनी सक्रिय रुपमा लागेका थिए । तर, यसपटक उनी फरक देखिएका छन् । अनमोलले मिडियासँग अन्तरवार्ता नदिने पक्का छ । बरु, उनी आफ्नै सामाजिक संजालमा फिल्मका प्रचार सामाग्री शेयर गरेर बसिरहेका छन् । 

अनमोलको जस्तै प्रचार शैली यसपटक ‘छक्का पन्जा ४’ टिमको पनि छ । दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, मलिना जोशी जस्ता कलाकारहरु मिडियाबाट टाढा छन् । उनीहरु डिजिटल शैलीमै प्रचार गरिरहेका छन् । 

यी दुबै टिमले अपनाएको शैली बलिउड फिल्म ‘पठान’का मेकरले अपनाएको शैली हो । फिल्म रिलिज अघिसम्म यो फिल्मका मुख्य कलाकारहरु साहरुख खान, दीपिका पादुकोण, जोन अब्राहिम मिडियाबाट टाढा रहे । साहरुखले ट्विटरमा फ्यानहरुसँग साक्षात्कार गरे । मिडियाबाट टाढा रहेर उनीहरु विवादबाट बच्न खोजेका थिए । 

यसपटक, अनमोल केसी र दीपकराज गिरीको टिमले पनि सोही शैली अपनाएको छ । उनीहरु पनि मिडिया फेस गर्दा हुने विवादबाट बच्न खोजिरहेका छन् । अझ, मिडियामा दुई फिल्मको भिडन्तको बिषयमा बढी प्रश्न आउने भएकाले पनि उनीहरु यसबाट टाढा हुन खोजिरहेका छन् । 

अब, यो शैलीले फिल्मलाई कति फाइदा पुग्छ त्यो भोली थाहा हुने कुरा हो ।