‘छड्के २’को ट्रेलर प्रतिक्रियाबाट उत्साहित अनमोल, भन्छन्–‘फिल्मले सरप्राइज दिन्छ’


नायक अनमोल केसी अभिनीत फिल्म ‘छड्के २’ फागूणको १९ गतेबाट रिलिज हुँदैछ । यो फिल्मको बुधबार ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरले दर्शकको उत्कृष्ट प्रतिक्रिया पाएको छ । 

टिजरबाट कमजोर देखिएको ‘छड्के २’ ट्रेलरमा भने धमाका देखिएको छ । अनमोल केसीको कामको सर्वत्र प्रशंसा पनि भइरहेको छ । अनमोल केसीले आफूलाई फिल्ममा ग्याङ स्टारको रुपमा ढालेका छन् । अनमोलको गेटअप, उनको अभिनय, संवाद बोल्ने शैलीको दर्शक र फिल्मीकर्मीले प्रशंसा गरिरहेका छन् । 

मेरो फिल्मसँग कुरा गर्दै नायक अनमोल केसीले फिल्मको ट्रेलरबाट पाएको प्रतिक्रियाले आफू उत्साहित भएको बताएका छन् । अनमोलले भने–‘हामीले ट्रेलरमा जुन दृश्य समावेश गरेका छौं, फिल्ममा त्यो भन्दा अझै उत्कृष्ट संवाद र दृश्यहरु छन् । फिल्म हेर्दा दर्शकहरु झनै बढी उत्साहित हुनुहुन्छ जस्तो लाग्छ ।’

अनमोलले ट्रेलर भन्दा फिल्म अझै उत्कृष्ट भएको बताउँदै यसपटक दर्शक निराश नहुने बताए । भने–‘एकै प्रकारका फिल्महरू आइरहेको समयमा यो फिल्म दर्शकका लागि केही नयाँ स्वादको हुन्छ कि भन्ने लागेको छ । आशा छ, दर्शकहरुले यसअघि मेरो फिल्मलाई दिएको माया जस्तै यसलाई पनि दिनुहुनेछ ।’

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा तयार भएको फिल्मको लभस्टोरी, एक्सन, ग्याङको कथादेखि बदलाको कथाले दर्शकको मन जित्ने अनमोलको विश्वास छ ।