‘छड्के २’ मार्फत दर्शकलाई निराश बनाएको भन्दै अनमोलले मागे माफी


नायक अनमोल केसीले आफ्नो नवौं फिल्म ‘छड्के २’बाट दर्शकलाई निराश बनाएको भन्दै माफी मागेका छन् । साथै, उनले यो समय बितेर जाने र नयाँ बिहानी आउने आशा समेत गरेका छन् ।

सामाजिक संजालमार्फत उनले लेखेका छन्–‘मलाई थाहा छ, मैले छड्के २ मार्फत मलाई माया गर्ने दर्शकहरुलाई निराश बनाएँ । जुन दर्शकहरुको साथको कारण म यहाँ आइपुगेँ, मैले उहाँहरुलाई नै निराश बनाउँदा म झनै दुःखी भएको छु । छड्के २ मेरो नवौं फिल्म थियो, नवौं फिल्मसम्म आइपुग्दा म झनै परिपक्क हुनु पथ्र्यो । तर, यहाँ म चुक्न पुगेँ ।’

अनमोलले, आफ्नो दशौं फिल्म आफ्ना लागि पहिलो हुने समेत वाचा गरेका छन् । उनले अगाडि लेखेका छन्–‘विस्वस्त हुनुहोस्, यो समय बितेर जान्छ । घाम डुबेपछि फेरि भोली नयाँ बिहानी हुन्छ । म भोलीको सुनौलो बिहानी मेरा दर्शकसँग साट्न चाहन्छु । दुखेका घाउहरुमा मल्हम लगाउने छु ।’

अनमोलले आफ्नो दशौं फिल्म दश पछिको शुन्य हटेर बन्ने ‘एक’ अर्थात शुन्य हुने समेत उल्लेख गरेका छन् । उनले लेखेका छन्–‘आज म शुन्यमा छु र मेरो करिअरको पहिलो फिल्म मेरो दशौं सिनेमा हुनेछ अर्थात मेरो करिअरको दोश्रो सत्रको सुरुवात मेरो अबको फिल्मबाट हुनेछ । जबसम्म शुभचिन्तक र दर्शकहरुको साथ र सहयोग रहिरहनेछ मेरो कोशिश निरन्तर जारी रहनेछ ।’

अनमोलले आफ्नो फिल्म ‘छड्के २’सँग रिलिज भएको फिल्म ‘छक्का पन्जा ४’को टिमलाई समेत बधाई दिएका छन् ।