‘छड्के २’बाट करोड बढी डुबाएका वितरक भन्छन्–‘अनमोलका लागि अझै डेढ करोड हाल्न तयार छु’


नायक अनमोल केसी अभिनित फिल्म ‘छड्के २’ले बक्स अफिसमा पानी पनि भनेन । यो फिल्मलाई देशभर वितरक सुनिल मानन्धरले वितरण गरेका थिए । सुनिलले अनमोलको नाममै फिल्मको कथा समेत नहेरि १ करोड ३० लाख रुपैयाँ लगानी गरेका थिए । तर, यो फिल्मबाट आफ्नो हातमा १० लाख रुपैयाँ मात्र परेको सुनिल बताउँछन् ।

उनले भने–‘यो फिल्म वास आउट नै हो । मैले यस्तो व्यापार गर्ला भनेर कल्पना पनि गरेको थिइनँ । यसपटक अनमोलको स्टारडम नदेखिएको  पक्का हो । यस्तो किन भयो म आफै अचम्मित छु ।’

उनले, यो फिल्म असफल भएपनि नेपालमा स्टारडम भएको नायक अनमोल केसी मात्र भएको तर्क गरे । भने–‘अनमोलको स्टारडम यो फिल्ममा नदेखिएको हो । तर, अनमोल स्टार होइनन् भन्न मिल्दैन । अझै पनि, अनमोलको नयाँ फिल्मको वितरण गर्ने मौका मिल्यो भने म डेढ करोड हाल्न तयार छु ।’

सुनिलले दर्जनौ फिल्मको वितरण गरिसकेका छन् । तर, ‘छड्के २’ जस्तो पत्तासाफ अरु कुनै पनि फिल्म नभएको उनको तर्क छ ।