पशुपतिनाथ परिसरबाट सुरु भयो ‘पशुपति प्रसाद २ः भष्मे डन’को छायांकन


निर्देशक दीपेन्द्र के खनालले बहुप्रतिक्षित फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’को छायांकन आजबाट सुरु गरेका छन् । पशुपतिनाथको  परिसरमा नायक विपिन कार्कीको पहिलो सट खिच्दै फिल्मको छायांकन सुरु भएको हो । 

टुकी आर्ट्सको प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्मलाई ३० दिन लगाएर खिच्ने योजना निर्माण पक्षको छ । 

फिल्मलाई आउँदो बर्षको दशैँको फूलपातीमा रिलिज गरिने निर्माणपक्षले बताएको छ । यो फिल्ममा विपिन कार्की शीर्ष भूमिकामा छन् । साथमा फिल्ममा स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, सौगात मल्ल, वर्षा सिवाकोटी लगायतका कलाकारको अभिनय रहनेछ । 

यो फिल्मले ‘भष्मे डन’ पात्रको कथालाई अगाडि बढाउनेछ । यसअघि फिल्म ‘पशुपति प्रसाद’मा पशुपति प्रसादको कथा भनिएको थियो । ७ बर्ष अगाडि रिलिज भएर सुपरहिट भएको यो फिल्मको सिक्वेलको प्रतिक्षा आम दर्शकमा छ । खगेन्द्र लामिछानेले यो फिल्मको कथा लेखेका हुन् ।